विर्तामोड । भदौ २३ र २४ गतेको जेनजी विद्रोहको सबैभन्दा हिंस्रक र युद्धग्रस्त तस्बिर झापा जिल्लाले भोग्नुपर्यो । सुनसरीमा भन्दा बढी उग्र बनेको झापाको आन्दोलनमा राज्यको सुरक्षा गर्ने प्रहरीकै हतियार लुटियो र उल्टै प्रहरीमाथि नै गोली प्रहार भयो । घटनामा हिलिहाङ २, पाँचथरका ३० वर्षीय कमल भण्डारी र झापा अर्जुनधारा ११ का ३९ वर्षीय ज्ञानेन्द्र सेढाईको भदौ २४ गते मृत्यु भयो भने अर्जुनधारा ८ का ३२ वर्षीय दिनेश राजवंशीको २७ गते उपचारको क्रममा ज्यान गयो ।
भदौ २३ गते दमक र विर्तामोडबाट सुरु भएको प्रदर्शनमा आपराधिक पृष्ठभूमिका व्यक्ति, लागू औषध सेवनकर्ता र राजनीतिक कार्यकर्ताको ठूलो घुसपैठ भयो । बिर्तामोडमा ५ हजारको हाराहारीमा पुगेको भीडले नगरपालिकामा तोडफोड गर्दै उपमेयरलाई बन्धक बनाउने प्रयास गर्यो ।
तर सबैभन्दा डरलाग्दो घटना इलाका प्रहरी कार्यालय दमक र विर्तामोड ट्राफिक कार्यालयमा भयो । आयोगको प्रतिवेदनले झापाको भयावह अवस्थालाई चित्रण गरेको छ । ‘प्रहरी अन्यत्र व्यस्त भएको मौकाछोपी इलाका प्रहरी कार्यालय, दमकमा आएको अराजक समूहले प्रहरीमाथि निर्घात आक्रमण गरी प्रहरीका हतियार, गोलीगट्ठा र बन्दोबस्तीका सामान तथा पोशाक समेत लुटेर लगेको । ट्राफिक प्रहरी कार्यालय, बिर्तामोडमा आगजनी गराउनुका साथै ग्याँस सिलिण्डरहरु समेत विष्फोट गराएको …. लुटिएका हतियारबाट आन्दोलनकारीबाट फायरिगं समेत गरिएको,’ प्रतिवेदनमा भनिएको छ ।
अत्यधिक भीडका कारण थप सुरक्षाकर्मी र अश्रुग्याँस पठाउन नसक्ने निरीह अवस्थामा प्रशासन पुगेको थियो । दुई दिनको अवधिमा झापामा नेपाल प्रहरीबाट ४१६ राउण्ड र सशस्त्र प्रहरीबाट १२ राउण्ड गरी जम्मा ४२८ राउण्ड फायर र ४२० सेल अश्रुग्याँस प्रहार भएको थियो ।
झापामा मारिएका तीन जनाको मृत्युको कारण अझै रहस्यमै छ । उनीहरुलाई प्रहरीले गोली हानेको हो वा लुटिएको हतियार बोकेका घुसपैठियाले ? आयोग स्वयम् यसमा स्पष्ट छैन । प्रतिवेदनको निष्कर्ष छ, ‘मृतकमध्ये कोहि उक्त घटनामा परेका पनि हुनसक्ने, साथै हतियार लुटेर लगेको समूहबाट गोली प्रहार समेत भएको हुनसक्ने । विर्तामोडमा उपचार रहेका घाइतेहरुमध्ये ३ जनाको मृत्यु भएको छ । ती कहाँको घटनामा घाइते भएका थिए भन्ने स्पष्ट नभएको । साथै गोली लागेकाहरुलाईपनि कस्ले गोली हानेको थियो भन्ने यकीन गर्न भने नसकिएको ।’
यसबाहेक आयोगले झापाको हिंसा भड्किनुमा राजनीतिक रिसइबीलाई पनि प्रमुख कारण मानेको छ । विर्तामोड नगरपालिकामा उपमेयर र राप्रपाबाट निर्वाचित वडा नं ८ का वडाध्यक्षबीचको विवाद तथा दमक नगरपालिका भित्रको राजनीतिक खिचातानीको रिसइबी साट्न यो आन्दोलनलाई दुरुपयोग गरिएको प्रतिवेदनमा उल्लेख छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।