काठमाडौँ । नेकपा (एमाले)का नवनिर्वाचित युवा सांसद सुहाङ नेम्वाङले पार्टीले संसदीय दलको नेताका रूपमा जिम्मेवारी दिए आफू पछि नहट्ने र खुट्टा नकमाउने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिन बिहीबार संसद् भवन पुगेका नेम्वाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन् । उनले हालसम्म पार्टीभित्र यस विषयमा कुनै औपचारिक छलफल नभएको स्पष्ट पारे ।
संसदीय दलको नेता बन्ने चर्चाबारे सोधिएको प्रश्नमा सुहाङले भने,‘हाम्रा अग्रज अभिभावकहरू अझै शोकमै हुनुहुन्छ । पार्टीमा यसबारे कुनै छलफल भएको छैन । सामाजिक सञ्जाल र बाहिर जुन कुराहरू आइरहेका छन्, त्यो शुभेच्छुकहरूको शुभेच्छा मात्र हो ।’
यद्यपि, पार्टीले आवश्यकता महसुस गरेर जिम्मेवारी सुम्पिए आफू त्यसका लागि पूर्ण रूपमा तयार रहेको उनले बताए । ‘कुनै पनि हिसाबले अगाडि बढ् भनियो भने मैले खुट्टा कमाउँदिनँ,’सुहाङले थपे ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सुहाङलाई संसदीय दलको नेता बनाउनुपर्ने आवाज सामाजिक सञ्जालमा निकै बलियो रूपमा उठिरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।