लोड हुँदैछ...

मेनु

कोशी सरकार : प्रदेशले दिने विदा लगायतको छ निर्णय

कोशी सरकार : प्रदेशले दिने विदा लगायतको छ निर्णय

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छवटा निर्णय गरेको छ। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरिएको छ। त्यस्तै प्रदेश सरकारले २०८३ सालमा दिने सार्वजनिक सार्वजनिक विदा पनि स्वीकृत गरेको छ। वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।

गत असोज १८ र १९ गते बाढी पहिरो साथै चैत्र १ र २ गते आएको हावा हुन्डरीबाट क्षति भएको क्षेत्रमा पुनर्निर्माण गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको विपद कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय पनि गरिएको मन्त्री पराजुलीले जानकारी दिए ।

प्रदेशभर सबैलाई सार्वजनिक हुने विदाहरुमा सिरुवा पर्व वैशाख २, कोजाग्रत पूर्णिमा कार्तिक ८, फाल्गुनन्द जयन्ती कार्तिक २५, छठ पर्व समापन कार्तिक ३० रहेको छ । यस्तै झापा, मोरङ, सुनसरी र उदयपुरमा मात्रै राधाकृष्ण रथयात्राको विदा भदौ २० गतेलाई दिइएको छ । यस्तै भदौ ३० गते ऋषिपञ्चमीका लागि प्रदेशभर महिलाले मात्र विदा पाउने भएका छन् ।

प्रदेश सरकारले विभिन्न जातजातिलाई र समुदायलाई मात्र हुने सार्वजनिक विदा पनि फाइनल गरेको छ । जसमा धिमाल जातिको सिरिजात असार २ गते, झाँगडहरूको करमपूजा असोज ६ गते, कुलुङ राई जातिको पूजा पुस १५ गते, सन्थाल समुदायको सोहराय फागुन ८ गते र माझी समुदायको लदी पूजा १८ फागुनका लागि सार्वजनिक विदा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।