काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन र आम निर्वाचन २०८२ को परिणाममाथि गम्भीर प्रश्न उठाएका छन् । भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै महासचिव पोखरेलले उक्त प्रतिवेदन निष्पक्ष छानबिनका लागि नभएको दाबी गरेका हुन् ।
पोखरेलले कार्की आयोग र २०८२ सालको आम निर्वाचनमा प्रयोग गरिएको ‘अल्गोरिदम’मार्फत नेपाली समाजमा पारिएको प्रभावलाई राजनीतिक तथा कानुनी वैधानिकता दिने प्रयास भएको उल्लेख गरेका छन् । सोही योजनाअनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको तर्क छ ।
‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ । कार्की आयोग र आम निर्वाचन २०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ,’पोखरेलले लेखेका छन्, ‘अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ— राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।’
महासचिव पोखरेलले लोकप्रियतावाद र अराजकतावाद दीर्घकालीन समाधानको बाटो हुन नसक्ने र यसले विचारधारात्मक राजनीतिको विकल्प दिन नसक्ने निष्कर्ष निकालेका छन् । यद्यपि, उनले उदाउँदो नयाँ शक्ति र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनताले प्रत्यक्ष अनुभवमार्फत उनीहरूको मूल्याङ्कन गर्न पाउनु विवेकपूर्ण कदम हुन सक्ने बताएका छन् ।
भदौ २३ र २४ को घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुधबार सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।