इटहरी । पूर्वको उदाउँदो सहर इटहरी यतिबेला एउटा गम्भीर र डरलाग्दो अभावसँग जुधिरहेको छ । फागुन सुरु भएसँगै सुक्खा मौसम र तीव्र गतिको हावा चल्ने क्रम बढेको छ, जसलाई ‘आगलागीको सिजन’ मानिन्छ । तर, यही संवेदनशील समयमा इटहरी उपमहानगरपालिकासँग भने आगो निभाउने एउटा पनि दमकल छैन । सहर ठुलो छ, तर आपत्कालीन अवस्थामा आफ्नो सहर आफैँ जोगाउने सामर्थ्य भने अहिले इटहरीसँग छैन ।
यो संकटको बीउ गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रोपिएको थियो । आन्दोलनका क्रममा आक्रोशित समूहले इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमै पार्किङ गरी राखिएका दमकलहरूमा आगो लगाइदिएका थिए । सोही दिनदेखि इटहरी दमकलविहीन भएको हो । आन्दोलनकारीले दमकल मात्र होइन, विकास निर्माणमा प्रयोग हुने जेसीबी, लोडर, टिपर, रोलर, ग्रेडर र अन्य साना–ठूला सवारीसाधनका साथै महत्त्वपूर्ण कागजातहरू समेत जलाएर खरानी बनाएका थिए । त्यसयता इटहरीमा आगलागी हुँदा छिमेकी पालिकाहरूको भर पर्नु परेको छ र यसको प्रत्यक्ष सास्ती स्थानीय जनताले भोगिरहेका छन् ।
यसको एउटा ताजा र तितो उदाहरण बुधबार बिहान इटहरीको व्यस्त बजारमा देखियो । मुख्य चोक नजिकै रहेको न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एन्ड कफी सपमा एक्कासि आगो लाग्दा इटहरी उपमहानगरको आफ्नै दमकल घटनास्थल पुग्न सकेन । आगो निभाउन प्रहरीले सुनसरीका धरान, दुहबी, रामधुनी, इनरुवा मात्र होइन, छिमेकी जिल्ला मोरङका विराटनगर, सुन्दरहरैँचा, बेलबारी र लेटाङसम्मका दमकललाई गुहार्नुपर्यो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार बाहिरबाट दमकल मगाउँदा आइपुग्न समय लाग्ने र त्यसले गर्दा क्षति धेरै हुने गरेको छ । ‘सुन्दरहरैँचा नजिकै भए पनि राजमार्ग निर्माणाधीन अवस्थामा रहेकाले दमकल समयमै आइपुग्न सक्दैनन्, टाढाबाट आउँदासम्म धेरै कुरा जलिसकेको हुन्छ,’ डीएसपी हमालले भने ।
भदौको त्यो अप्रिय घटनापछि इटहरीभित्र मात्रै चारवटा ठूला आगलागीका घटना भइसकेका छन् र ती सबैमा छिमेकीकै भर पर्नुपरेको छ । यो समस्या अझै केही महिना लम्किने निश्चित छ । इटहरीका मेयर हेमकर्ण पौडेलले नयाँ दमकल खरिद प्रक्रिया सुरु भए पनि त्यो सहर आइपुग्न समय लाग्ने बताए । मेयर पौडेलका अनुसार दमकल खरिदका लागि टेन्डर प्रक्रिया पूरा भइसके पनि कम्पनीले अर्डर प्राप्त भएपछि मात्र निर्माण गर्ने भएकाले नयाँ दमकल पाउन अझै झन्डै तीन महिना लाग्ने देखिन्छ ।
‘अत्यावश्यक चिज नै जलाइदिएपछि त्यसको सास्ती अन्ततः जनताले नै बेहोर्नुपर्ने रहेछ,’ मेयर पौडेलले दुखेसो पोखे । उपमहानगरले यो बीचमा अन्य केही सवारीसाधन खरिद गरे पनि दमकलको अभाव भने टर्न सकेको छैन । इटहरी मात्र होइन, छिमेकी दमक नगरपालिकाको अवस्था पनि उस्तै छ, जहाँ आन्दोलनकै क्रममा नयाँ दमकल जलेपछि अहिले पुराना दमकल मर्मत गरेर जेनतेन सेवा दिइँदै छ । आन्दोलनको नाममा भएको भौतिक विनाशले अहिले सिङ्गो इटहरीलाई अग्नि जोखिम’मा पारेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।