लोड हुँदैछ...

मेनु

विश्व छारे रोग दिवस

विराटनगरमा न्यूरो हस्पिटलले निकाल्यो सचेतना र्‍याली

विराटनगरमा न्यूरो हस्पिटलले निकाल्यो सचेतना र्‍याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारे रोग दिवसको अवसरमा सचेतनामूलक र्‍याली आयोजना गरेको छ । बिहीबार बिहान निकालिएको उक्त र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरी जनचेतना जगाएको हो ।

न्युरो हस्पिटलबाट सुरु भएको र्‍यालीले विराटनगर महानगरपालिकाका विभिन्न टोल तथा सडकको परिक्रमा गरेको थियो । र्‍यालीमा चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले ‘छारे रोगबारे घर–घर र टोल–टोलमा कुरा गरौं’, ‘छारे रोग सरुवा रोग होइन’, र ‘समयमै उपचार गरे छारे रोग निको हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

न्युरो हस्पिटलले विगत २२ वर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष विश्व छारे रोग दिवसका अवसरमा यस्ता सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । ‘समयमै उपचार गरौं, छारे रोगबाट बचौं’ भन्ने मुख्य नाराका साथ अस्पतालले यस वर्ष पनि विशेष सक्रियता देखाएको हो । स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरूमा सामाजिक कार्य र सचेतना अभियानमा न्यूरो हस्पिटल सधैँ अग्रसर रहँदै आएको छ ।

कार्यक्रममा बोल्दै न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिष्ट डा. सुनन्द पौडेलले छारे रोग पूर्ण रूपमा निको हुने रोग भएको बताए । उनले यस रोगका बारेमा समाजमा व्याप्त अन्धविश्वास हटाउनु पर्नेमा जोड दिए ।

‘छारे रोग कुनै दैवी वा राक्षसी शक्ति, पुनर्जन्मको प्रतिफल वा देवता लागेर हुने रोग होइन भन्ने कुरा विज्ञानले प्रमाणित गरिसकेको छ,’ डा. पौडेलले भने, ‘छारे रोगका बिरामी पनि हामी जस्तै सामान्य मानिस हुन् । उनीहरूलाई माया, नियमित उपचार र सामाजिक सहयोगको आवश्यकता पर्दछ ।’

उनले बिरामीलाई भेदभाव नगरी समाजमा सामान्य जीवनयापन गर्न प्रोत्साहन गर्नुपर्ने बताए । उपचारको क्रममा चिकित्सकको परामर्श अनुसार औषधि नटुटाई सेवन गर्न र आफूखुसी औषधि बन्द नगर्न समेत उनले सुझाव दिए । समाजमा अझै पनि यस रोगप्रति नकारात्मक धारणा कायम रहेकाले समयसमयमा यस्ता चेतनामूलक कार्यक्रमहरू गरिरहनु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds