लोड हुँदैछ...

मेनु

कोशीमा मारिए ५५ हजार कुखुरा

कोशीमा मारिए ५५ हजार कुखुरा

विराटनगर । यसैपनि संकटमा रहेको कोशी प्रदेशको पोल्ट्रि व्यवसाय बर्डफ्लुको संक्रमणले फेरि उठ्नै नसक्ने गरी समस्यामा परेको छ । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका १२ वटा पोल्ट्रि फर्ममा बर्डफ्लु पुष्टि भइसकेको छ भने तीब्र गतिमा फैलन सक्ने सम्भावना रहेको भन्दै सरकारी निकायले कडा निगरानी सुरु गरेको छ ।

मोरङको सुन्दरहरैंचा–४ स्थित हलेसी महादेव कृषि फार्ममा गत चैत ३ गते अचानक कुखुरा मर्न थालेपछि नमुना संकलन गरी काठमाडौँ पठाइएको थियो । यस्तै उर्लाबारी ८ को एक कुखुरा फर्ममा गएको चैत ४ गते बर्डफ्लु पुष्टि भएको थियो । त्यसपछि बर्डफ्लु संक्रमण १२ वटा फार्ममा पुगिसकेको कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयकी फोकल पर्सनसमेत रहेकी पशुपन्छी विकास महाशाखाकी बरिष्ठ पशु चिकित्सकडा. दिपा दिवालीले झापा, मोरङ, सुनसरीमा बर्डफ्लु देखिएको बताइन् । ‘अहिलेसम्म १२ वटा फार्ममा संक्रमण पुष्टि भएको छ । जसमा लेयर्स कुखुरा मात्रै ५३ हजार ९ सय ९० वटा नष्ट गरिएको छ,’ डा. दिवालीले भनिन् । त्यस्तै, ब्रोइलर कुखुरा ५ सय ५० वटा र स्थानीय जातका कुखुरा ६ सय ६ वटा नष्ट गरिएको उनले जानकारी दिइन् । अण्डाको हकमा भने १ लाख ९ हजार ४ सय २१ वटा नष्ट गरिएको छ ।

कुखुरासँगै फार्ममा रहेका दाना र अन्य सामग्री पनि नष्ट गरिएको छ । ‘फार्ममा भेटिएको १७ हजार ३ सय ५० केजी दाना पनि संक्रमित मानिने भएकाले त्यसलाई सुरक्षित तरिकाले नष्ट गरेका छौँ । साथै, उर्लाबारीको एउटा फार्मबाट ७ वटा हाँस पनि नष्ट गरिएको छ,’ उनले भनिन् । मोरङको विराटनगर र कटहरीका दुई फार्मको अन्तिम प्रतिवेदन आउन बाँकी रहेकाले यो संख्या अझै बढ्न सक्ने उनले बताइन् ।

उनका अनुसार संक्रमण नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको टोली अहिले प्रभावित क्षेत्रमा खटिएर संक्रमित पंक्षी नष्ट गर्ने कार्यमा व्यस्त छ । संक्रमण पुष्टि भएलगत्तै सरकारले ‘रेपिड रेस्पोन्स टिम’ परिचालन ग¥यो । तर, संक्रमण त्यतिमा मात्र सीमित गर्न सकिएको छैन । ‘मोरङको उर्लाबारी र सुन्दरहरैंचाबाट सुरु भएको संक्रमण अहिले झापाको दमक र सुनसरीको इटहरीसम्म पुगेको छ,’ उनले भनिन्, ‘हामीले धमाधम नष्ट गर्ने काम गरिरहेका छौँ ।’

अहिलेसम्मको विवरण अनुसार मोरङको उर्लाबारी र झापाको दमक क्षेत्र सबैभन्दा बढी प्रभावित देखिएका छन् । उर्लाबारी–८ स्थित अठियाबारी कृषि फार्ममा मात्रै १८ हजार लेयर्स कुखुरा नष्ट गरिएको छ । ‘उर्लाबारी र दमकका ठूला फार्महरूमा संक्रमण देखिएको छ । दमकको एउटा फार्ममा १५ हजार जति कुखुरा नष्ट गरिएको छ भने अर्कोमा १३ हजारको हाराहारीमा,’ डा. दिवालीले भनिन् । सुनसरीको इटहरी, गढी र झापाको दमकका विभिन्न वडाहरूमा पनि संक्रमण फैलिएको छ ।

कोशी प्रदेशमा यसअघि पनि फाट्टफुट्ट बर्डफ्लु देखिने गरेको भए पनि यो वर्षको संक्रमण विगत २–३ वर्ष यताकै ठूलो भएको डा. दिवालीको भनाइ छ । गत वर्ष सुनसरीको कोशी गाउँपालिकामा मात्रै संक्रमण देखिएको थियो । ‘यो पटक चैत ३–४ गते मोरङको उर्लाबारी र सुन्दरहरैँचाका तीन वटा फार्मबाट संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो,’ उनले भनिन्, ‘त्यसपछि क्रमशः सुनसरी र झापाका अन्य क्षेत्रमा फैलियो ।’

उनका अनुसार करिब एक महिना अघिदेखि नै कुखुराहरू मर्न थालेका थिए । सुरुमा लो प्याथोजेनिक एभिएन इन्फ्लुएन्जा देखिएकोमा अहिले हाई प्याथोजेनिक अर्थात् बर्डफ्लु पुष्टि भएको हो ।

बर्डफ्लु नियन्त्रणमा सबैभन्दा ठुलो चुनौती कुखुराको अवैध ओसारपसार रहेको डा. दिवालीले औंल्याइन् । संक्रमित क्षेत्रबाट कुखुरा बाहिर लैजाँदा रोग पहाडी जिल्ला र अन्य सुरक्षित क्षेत्रमा फैलिन सक्ने जोखिम बढेको छ । ‘धेरैजसो किसानहरू कुखुरा मर्न थालेपछि घाटा कम गर्न सस्तो मूल्यमा बजारमा पठाउन खोज्छन्,’ उनले चिन्ता व्यक्त गर्दै भनिन्, ‘यसरी ओसारपसार गर्दा रोग अन्यत्र पनि पुग्छ । हामीले जिल्ला प्रशासन कार्यालयमार्फत निगरानी बढाउन र भेटेरिनरी प्रमाणपत्र बिना कुखुराको ओसारपसार नगर्न आग्रह गरेका छौँ ।’

डा. दिवालीले कृषकहरूलाई जैविक सुरक्षाका उपायहरू कडाइका साथ अपनाउन आग्रह गरेकी छिन् । ‘फार्मको सरसफाइमा ध्यान दिने, बाह्य व्यक्तिको प्रवेश निषेध गर्ने र कुखुरामा कुनै शंकास्पद लक्षण देखिएमा तुरुन्त नजिकैको पशु सेवा केन्द्रमा खबर गर्न हामीले सूचना जारी गरेका छौँ,’ उनले थपिन् ।

अहिलेको मुख्य प्राथमिकता संक्रमणलाई थप फैलिन नदिनु र संक्रमित क्षेत्रलाई पूर्ण रूपमा क्लिन गर्नु रहेको डा. दिवालीको निष्कर्ष छ । ‘स्वस्थ कुखुरा र भेटेरिनरी प्रमाणपत्र भएकालाई मात्र ओसारपसार गर्न दिने र संक्रमित क्षेत्रको मुभमेन्ट रोक्ने काममै अहिले हाम्रो ध्यान केन्द्रित छ,’ उनले भनिन् ।

पोल्ट्री उद्योगमा ठूलो लगानी रहेको र यसले हजारौँको रोजगारी सिर्जना गरेको अवस्थामा बर्डफ्लुको यो लहरले व्यवसायमा गम्भीर संकट निम्त्याएको छ । सरकारले राहत वितरणमा ढिलाइ नगर्ने र नियन्त्रणका उपायहरूलाई प्रभावकारी बनाउने दाबी गरे पनि कृषकहरू भने चिन्तित देखिएका छन् । ‘लाखौँ ऋण लिएर फार्म चलाइएको थियो, बिक्री हुने बेलामा संक्रमण देखिँदा व्यवसायीहरू सडकमा पुग्ने अवस्था आएको छ,’ लेयर्स कुखुरापालक संघ मोरङ–सुनसरीका अध्यक्ष होम बास्कोटाले भने ।

नेपालमा पहिलो पटक २०६५ माघमा झापाकै काँकडभिट्टाबाट बर्डफ्लु भित्रिएको थियो । त्यसबेला २८ हजार कुखुरा नष्ट गरिएको थियो । त्यसयता छिटफुट रुपमा देखिने बर्डफ्लु संक्रमण यो वर्ष भने भयावह बन्दै गएको छ ।

किसानले क्षतिपूर्ति कसरी पाउँछन् ?

बर्डफ्लुबाट प्रभावित किसानहरूलाई सरकारले राहत दिने व्यवस्था गरेको छ । डा. दिवालीका अनुसार संघीय सरकारको बर्डफ्लु रोग नियन्त्रण नियमावली बमोजिम क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइनेछ । ‘रोग नियन्त्रण गर्ने क्रममा सरकारी टोलीले नष्ट गरेका पशुपन्छी र सामग्रीको क्षतिपूर्ति पाउने व्यवस्था नियमावलीमा छ,’ उनले भनिन्, ‘जिल्ला दररेट निर्धारण समितिले क्षतिको मूल्याङ्कन गर्छ र त्यसैका आधारमा संघीय सरकारले राहत उपलब्ध गराउँछ । यद्यपि, यो प्रक्रिया पूरा हुन केही समय लाग्छ ।’ उनका अनुसार हाल मन्त्रालयले नष्ट गरिएका कुखुरा र सामग्रीको विवरण सङ्कलन गरी संघीय सरकारलाई सिफारिस गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।