विराटनगर । विराटनगरमा एक युवकले आफ्नी श्रीमतीको हत्या गरी शव लुकाएर प्रहरीलाई श्रीमती खोजी गरिदिन निवेदन दिएको घटना सार्वजनिक भएको छ।
विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका रोशन साहले आफ्नी ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरेपछि प्रहरीलाई श्रीमती हराएको जानकारी गराएका थिए ।
प्रहरीका अनुसार रोशनले कोमलको हत्या गरेपछि शव लुकाउन सुनियोजित प्रयास गरेका थिए। हातखुट्टा बाँधी शवलाई तन्नाले बेरेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि पानीमा फालिएको अवस्थामा प्रहरीले बरामद गरेपछि घटना बाहिर आएको हो ।
प्रहरीका अनुसार शव व्यवस्थापनका लागि घरदेखि करिब ४–५ किलोमिटर पूर्वतर्फ साह पुगेको पायएको छ । घटना ५ दिन अगाडिकै भएको पाइएको छ । कल्भर्टमुनि तन्नाले बेरिएको शव देखिएपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँले मंगलबार साँझ प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोली घटनास्थलमा पुगेका थिए।
शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले प्रारम्भमा पहिचान गर्न कठिन भएको थियो। प्रहरीले हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दै अनुसन्धान अघि बढाएकोमा मृतक महिला कोमलकुमारी साह भएको पुष्टि भएको थियो।
प्रहरीका अनुसार कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन्। रोशनले नै पत्नी हराएको नाटक गर्दै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहित निवेदन दिएका थिए । अनुसन्धानको क्रममा उनले हत्या गरेको र घटना लुकाउन खोजेको तथ्य बाहिर आएको डीएसपी लामिछानेले बताए।
प्रारम्भिक अनुसन्धानमा रोशनले पत्नीको घाँटी थिचेर हत्या गरेको खुलेको छ। प्रमाण नष्ट गर्न र घटना लुकाउन शव टाढा पुर्याएर पानीमा फालिएको प्रहरीले जनाएको छ। हातखुट्टा बाँधिएको, तन्नाले बेरिएको र पानीमा डुबाइएको अवस्थामा शव फेला परेकोले घटना योजनाबद्ध भएको पुष्टि भएको छ।
प्रहरीका अनुसार सहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले अपराध स्वीकार गरेका छन्। हाल उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका छन्।
साहविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ। इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
घटनाको पृष्ठभूमिमा दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास मुख्य कारण देखिएको छ। स्थानीयका अनुसार रोशनले पत्नीको परपुरुषसँग सम्बन्ध रहेको आशंकामा बारम्बार विवाद गर्दै आएका थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।