विराटनगर । विराटनगरमा बुधबार बिहान एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन्। पेट्रोल छर्किएर शरीरमा आगो लगाउँदा ती महिला घाइते भएकी छन्।
विराटनगर महानगरपालिका–१४ जतुवाकी करिब ४२ वर्षीया निर्मला खत्रीले शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएकी हुन् । आगो निभाउने क्रममा उनका छोरा पनि घाइते भएका छन्।
आगोले जलेर आमा–छोराको शरीरका केही भाग जलेको छ। घाइते दुवैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिएका छन् ।
आगोले निर्मलाको अनुहार, छाती र हात गरी शरीरको करिब १८ प्रतिशत भाग जलेको छ। निर्मलाले शरीरमा आगो लगाएपछि त्यसलाई निभाउने क्रममा छोरा १९ वर्षीय धीरज खत्री पनि घाइते भएका हुन्। धीरजको शरीरको करिब ५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार दुवै घाइतेको अवस्था सामान्य छ। प्रहरीका अनुसार घटना बिहान करिब १० बजेतिर भएको हो। प्रारम्भमा घाइतेहरुले खाना पकाउने क्रममा घरभित्रै ग्यास सिलिन्डर विस्फोट भएको भनेर प्रहरीलाई बताएका थिए ।
प्रहरी घटनास्थलमा पुग्दा विस्फोटको कुनै प्रमाण फेला नपरेको बताइएको छ । डीएसपी लामिछानेका अनुसार ग्यास सिलिन्डर विस्फोट भएको भनेर ढाँट्ने प्रयास भएको खुलेको छ । प्रहरीले घटनास्थलमा गएर निरीक्षण गर्दा विस्फोटको कुनै प्रमाण नपाएकोले थप सोधपुछ गर्दा वास्तविक घटनाबारे थाहा भएको हो ।
सामान्य पारिवारिक विवादका क्रममा निर्मलाले शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ। खत्री परिवार यनिता योञ्जनको घरमा डेरा गरी बस्दै आएको पाइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।