विराटनगर । विराटनगर महानगरपालिका–१७ स्थित वडा कार्यालय र छाला उद्योग नजिकै रहेको कल्भर्टमुनि एक व्यक्तिको शव फेला परेको छ।
मंगलबार साँझ कपडाले बेरेर फ्यालेको अवस्थामा शव भेटिएको हो। स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीका अनुसार कल्भर्टमुनि रहेको खाल्डोबाट शव निकाल्ने प्रयास भइरहेको छ। प्रारम्भिक रूपमा हेर्दा शव महिलाको जस्तो देखिए पनि आधिकारिक पहिचान भने खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। शव कसले, किन र कहिले फ्यालेको भन्नेबारे खुल्न बाँकी रहेको उनले बताए।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।