लोड हुँदैछ...

मेनु

कांग्रेसको १५औँ महाधिवेशन भदौ २४–२६ मा गर्ने प्रस्ताव

कांग्रेसको १५औँ महाधिवेशन भदौ २४–२६ मा गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेस को १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिएको छ।

पार्टी सभापति गगन कुमार थापा ले मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उक्त कार्यतालिका प्रस्ताव गरेका हुन्।

प्रस्तावअनुसार महाधिवेशन प्रक्रिया चैत २१ गतेदेखि सुरु हुनेछ। यस अवधिमा नयाँ सदस्यता फारम वडासम्म पुर्‍याउने र पुराना सदस्यता अद्यावधिक गर्ने योजना राखिएको छ। वैशाख १ गतेदेखि मसान्तसम्म सबै वडामा सदस्यता वितरण तथा नवीकरण गरिनेछ भने जेठ २५ गतेसम्म जिल्ला हुँदै केन्द्रमा सदस्यता पठाउने कार्य सम्पन्न गरिनेछ। केन्द्रले असार १५ गतेसम्म सदस्यता छानबिन गरी अन्तिम टुंगो लगाउने प्रस्ताव गरिएको छ।

त्यसपछि साउन ३० गते महाधिवेशन प्रतिनिधि चयन गरिनेछ। भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन सम्पन्न गरी अन्ततः भदौ २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना गर्ने कार्यतालिका तय गरिएको छ।

प्रस्तावमा सदस्यता प्रणालीलाई डिजिटल बनाउने, वडा तथा क्षेत्रीय समितिलाई आईडी–पासवर्ड उपलब्ध गराउने र देशभर १६५ क्षेत्रमा प्रतिनिधि खटाएर सदस्यता अद्यावधिक अभियानलाई प्रभावकारी बनाउने योजना समेत समेटिएको छ।

कांग्रेसको विधानअनुसार विशेष महाधिवेशनपछि एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार नयाँ कार्यतालिका अघि सारिएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।