विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मन्दिरलाइनस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा ग्यारेज सञ्चालक घाइते भएका छन्।
सोमबार राति करिब १० बजे कृष्ण थापाको घरमा रहेका दुई सटरमध्ये एकमा सञ्चालन हुँदै आएको ग्यारेजमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।
स्थानीय सरस्वती टोलका ३४ वर्षीय खिलबहादुर परियारले भाडामा लिएर सञ्चालन गर्दै आएको उक्त ग्यारेजमा आगो लागेपछि इलाका प्रहरी कार्यालय पथरी बाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको नेतृत्वमा टोली खटिएको थियो। सशस्त्र प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा करिब ५० मिनेटपछि राति १०ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
आगो निभाउने क्रममा ग्यारेज सञ्चालक परियारको बायाँ हात, पेट र खुट्टामा पोलेर घाइते भएका छन्। उनको पथरी अस्पतालमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनाबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।