लोड हुँदैछ...

मेनु

इरानको हिरासतमा रहेका झाको रिहाइका लागि कूटनीतिक पहल गर्न माग

इरानको हिरासतमा रहेका झाको रिहाइका लागि कूटनीतिक पहल गर्न माग

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले इरानको हिरासतमा रहेको भनिएका स्थानीय युवा अमृत झाको सुरक्षित रिहाइका लागि नेपाल सरकारसँग कूटनीतिक पहल गर्न औपचारिक आग्रह गरेको छ।

नगर प्रमुख बसन्तकुमार बस्नेतले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै त्रियुगा–११, गाईघाट निवासी ३३ वर्षीय मरीन इन्जिनियर अमृत झाको रिहाइको लागि कुटनीतिक पहल गर्न आग्रह गरेका हुन् ।

झा इरानी रिभोलुसनरी गार्डको नियन्त्रणमा परेको सूचनाले परिवार, स्थानीय समुदाय र सिंगो नगरपालिका नै चिन्तित बनेको पत्रमा उल्लेख छ । पत्रमा झा दुबईबाट इन्धन बोकेर फर्किने क्रममा होर्मुज जलडमरूमध्य नजिकै नियन्त्रणमा परेको जानकारी प्राप्त भएको जनाइएको छ। त्यसयता उनको अवस्था र सुरक्षाबारे स्पष्ट सूचना नआएकाले परिवार तथा स्थानीयस्तरमा चिन्ता बढेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले परराष्ट्र मन्त्रालयमार्फत इरान सरकारसँग आवश्यक कूटनीतिक पहल गरी झाको सुरक्षा सुनिश्चित गर्न तथा यथाशीघ्र रिहाइका लागि पहल गर्न अनुरोध गरेको छ। समयमै पहल भए परिवार र समुदायलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरिएको छ।

झाका बुवा–आमा त्रियुगा–११ मै बसोबास गर्दै आएका छन्। नगरपालिकाले उनको सुरक्षित स्वदेश फर्काइका लागि आवश्यक पहल जारी राख्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।