बुटवल । कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा दुई समुदायबीच विवाद र झडप भएपछि प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
शनिबार बिहान बर्दगवामा इद पर्वका अवसरमा मुस्लिम समुदाय प्रार्थनामा रहेको बेला हिन्दू समुदायबाट ठूलो आवाजमा भजन बजाइएको विषयलाई लिएर विवाद सुरु भएको थियो। सोही विषयमा दुवै पक्षबीच झडप हुँदा ५ जना प्रहरीसहित ८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी सन्तोष आचार्यका अनुसार स्थिति नियन्त्रणबाहिर जान नदिन निषेधाज्ञा जारी गरिएको हो। झडपमा सशस्त्र प्रहरीका ३ र जनपथ प्रहरीका २ जना घाइते भएका छन् भने ३ जना स्थानीय पनि घाइते भएका छन्।
शनिबार राम नवमी तथा ईद एकै दिन परेकाले दुवै समुदायका धार्मिक गतिविधिका क्रममा माइकको आवाज चर्किएको विषयमा विवाद बढ्दै झडपमा परिणत भएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सम्भावित थप झडप रोक्न शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म भेला, सभा र जुलुस गर्न नपाइने गरी निषेधाज्ञा लागू गरेको छ।
प्रशासनका अनुसार पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म निषेधाज्ञा लागू गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।