ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरा क्षेत्रमा यो सिजनकै सबैभन्दा बाक्लो हिमपात भएको छ । शनिबार नवौँ पटक परेको हिउँले ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर क्षेत्र छपक्कै छोपिएको हो ।
बाक्लो हिमपातका कारण पैदल मार्गमा बनाइएको ट्रस्टभित्र समेत हिउँ छिर्दा तीर्थयात्रीलाई आवतजावतमा केही कठिनाइ भएको छ । यद्यपि, चिसो र हिउँको प्रवाह नगरी शनिबार मात्रै १८ सयभन्दा बढी भक्तजनले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सिजनकै सबैभन्दा धेरै तीर्थयात्रीको उपस्थिति हो ।
भक्तजनको भिड बढेपछि व्यवस्थापनलाई चुस्त बनाइएको छ । वृद्धवृद्धा र अशक्तलाई लाइन नबसी दर्शन गराउने र चिसोबाट जोगाउन आगो तपाउने विशेष व्यवस्था मिलाइएको पुजारी टीका पौडेलले जानकारी दिए ।
काफ्लेपाटीसम्म सवारी साधनमा पुगिने भए पनि त्यहाँबाट मन्दिरसम्मको ५ किलोमिटर यात्रा हिउँका कारण चुनौतीपूर्ण बनेको छ । हिमपातले चिसो अत्यधिक बढेकाले बालबालिका र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन समितिले आग्रह गरेको छ ।


तस्बिर सौजन्य : राजेन्द्र महत




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।