हाम्रो संगठन नेपाली कम्युनिस्ट पार्टीका संयोजक क. प्रचण्डले भर्खरै सम्पन्न चुनावमा नखट्ने, चुनावी निर्देशन अवज्ञा गर्ने र अर्को पार्टीलाई भोट दिने इत्यादि दोषभागी पार्टी सदस्यलाई कार्वाही गरिन्छ, भनी जुन प्रक्षेपण गर्नु भयो, त्यसमा दृढ समर्थन तथा कार्यान्वयन जोड दिइनु पर्दछ।
जस अन्तर्गत मद्यावधि निर्वाचन २०८२ मा आफुले के कस्तो जटिलता सामाना गर्नु पर्यो, जसको परिणाम के हुन पुग्यो र चुनावमा आफुले के योगदान गरियो, भन्ने सम्बन्धमा यहाँ निम्नानुसार सार्वजानिक टिप्पणिसहित स्पष्टीकरण लेखिएको छ।
१. पेरिसडाँडास्थित पार्टी केन्द्रीय समितिका सदस्यहरुको विशाल सपथग्रहण सभामा पार्टी संयोजक र सहसंयोजक कमरेडले दिनु भएको प्रतिनिधिसभा निर्वाचनको महत्व र निर्वाचनमा पार्टी सदस्यहरु सक्रियतापूर्वक खट्नु पर्ने मार्गदर्शन मन्तव्य एवं बेलाबखत सामाजिक सञ्जालमा घुमेर आइपुग्ने परिपत्र नामको लिखत बाहेक एक जना केन्द्रीय सदस्यको हैसियतमा हामीलाई कुनै पनि पार्टी संगठनको बैठकमा सहभागिताको अधिकार तथा कुनै पनि निर्वाचन क्षेत्रमा ठोस कार्यविभाजन नतोकिएको र जुनसुकै योजना निर्माणमा पार्टी सदस्य होइन नितान्त जनवर्ग सरह मात्र परिचालन गरिएको साँचो सत्य हो। जाँचपड्तालमा झुट्टा ठहरिए ब्यहोर्न तयार छु, भनी यसैसाथ प्रतिवद्वता गर्दछु।
२. पूर्वमा जनविरोधी प्रदेश नाम कोशी खारेज आन्दोलन चलेकोवारे पार्टीपंक्ति अवगत हुनैपर्छ। जुन, उत्पीडित जनताको न्यायपूर्ण आन्दोलन हो र नेपालमा नयाँ राष्ट्रिय एकीकरण आन्दोलनको पूरक समेत हो। त्यस आन्दोलनको एक अगुवा कार्यकर्ताको हैसियतबाट कोशी खारेज आन्दोलनको स्वामित्व लिएर पार्टी अघि बढ्नु पर्छ, भनी २०८२ मंसीर १५ गते विराटनगर सन्देशसभामा दृढतापूर्वक हामीले बोलेका हौं। साथसाथै, निर्वाचन घोषणापत्रमा पहिचानसहित समाजवादको नवीन कार्यक्रम प्रष्ट समाविष्ट गरियोस्, भनी केन्द्रीय कार्यालय मार्फत संयोजक र सहसंयोजक कमरेड समक्ष लेखेर दिएका पनि हौं।
उपरोक्त समवेदनशील राजनीतिक मुद्दाको कहिँ कतै पनि पार्टीले संवोधन नगरेको वा गर्न नखोजेको वा नचाहेको जटिलता र ठोस कार्यनिर्देशन पनि नभएको स्थितिमा किराती साइँला प्रदेश १ निर्वाचनमा जान मिल्ने र जान सकिने कुरै भएन।
अत: उत्पन्न जटिलतावारे क. मातृका यादवसंग पीडा व्यक्त गर्दा उहाँले “धनुषा आएर मलाई सघाउनुस्” भनेका हुँदा प्रतिनिधिसभा निर्वाचन २०८२ मा हामीले धनुषा १ मा सहभागिता जाहेर गर्यौं। फेरि पनि लगातार स्वास्थ्य प्रतिकुलताका कारण केवल उपस्थितिको न्युनतम् सहभागिता मात्र जनाउन सक्यौं।
दावीकासाथ हामी भन्न सक्छौं, पार्टीले कोशी खारेज अर्थात पहिचान आन्दोलनको प्रष्ट नीति लिएर जान सकिएको भए प्रदेश १ अन्तर्गत पान्थर, ताप्लेजुङ, भोजपुर, खोटाङ र सोलुमा तारा चिन्हको जीत कसैले रोक सक्दैनथ्यो। त्यसको प्रभाव- सन्देशका बलमा ओखलढुंगा, उदयपुर १ तथा मोरङ १ सन्निकट थियो। त्यस्तै, मतपेटिका साटफेर गरेको स्थिति बाहेक काठमाडौं ८ मा तारा चिन्हलाई निर्वाचित गर्न सकिन्थ्यो।
३. परन्तु, निर्वाचन अभियानमा तारा चिन्हमा मतदान सुदृढ गर्न हामीले एक विस्तृत अपीलसहित निम्न तीन वटा गम्भीर आलेखहरु लेखी प्रकाशित गर्यौं:
– सात तारा: गोर्खा राज्य विस्तारको राजकीय समापन बाँकी छ,
– फौलादी उमेदवार मातृका यादवका प्राथमिकता र
– महान जनयुद्व: भ्रमपूर्ण आरोपहरुको खण्डन।
अन्त्यमा, संगीन प्रश्न कि अब के गर्ने? हाम्रो निष्कर्षमा नेपाली कम्युनिस्ट पार्टी सम्बद्व हामीले कुनै बिना हिच्किचाहट निम्न कामलाई प्राथमिक सम्झनु पर्छ:
क. नयाँ विचार निर्माण प्रधान र नामको वाम एकता सहायक कदम उठाइनु पर्छ।
हाडमासु जहाँसुकै परोस्, जनयुद्व र जनआन्दोलनका सम्मानित नेताहरुसंग क्रान्तिको भव्यतम् विराशत छ, तर नयाँ विचार होइन। त्यसैको परिणाम हो, राष्ट्रिय स्वाधीनता रक्षासहित गणतन्त्रको जनपक्षीय कार्यान्वयन संकट।
२. आठ बर्षे अध्ययन विदाका दौरान मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा हामीले नेपाली क्रान्तिको समाजवादी कार्यक्रम विकसित गरेका छौं। जसलाई, “संविधानको समाजवादी संशोधन कार्यसूचि” शिर्षकमा निर्वाचन अपील प्रकाशित गरेका पनि हौं।
त्यसर्थ नयाँ विचार निर्माणवारे पार्टीका संयोजकदेखि सदस्य कमरेडहरु सबैमा अनुरोध कि हामीले विकास गरेको पहिचानसहित समाजवादी लोकतन्त्रको विचार जिम्मेवारीसाथ सुन्न तयार रहनोस्। यसवारे तपाईं कमरेडहरु सुरुमा नजान्न सक्नु हुन्छ, तर अन्ततः नमान्न सक्नु हुन्न। कथं मान्नु भएन भने पनिकिराती साइँला दुख मान्ने छैन। किनभने, तपाईं सामु खरो चुनौती हुनेछ कि साइँलाको भन्दा उत्तम विचार यथासिघ्र तपाइँले प्रस्तुत गर्नैपर्छ।
अभिवानदनसहित
६ चैत २०८२




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।