लोड हुँदैछ...

मेनु

उदयपुरमा हावाहुरीको कहर: १ करोड २० लाख बढी क्षति, २ जनाको मृत्यु

उदयपुरमा हावाहुरीको कहर: १ करोड २० लाख बढी क्षति, २ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आएको शक्तिशाली हावाहुरीले ठूलो जनधनको क्षति पुर्‍याउँदै दुई जनाको ज्यान गएको छ भने एक करोड २० लाख ६६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी निरञ्जन थापा का अनुसार हावाहुरीले जिल्लाका ६ स्थानीय तहमा रहेका विद्यालय, सामुदायिक भवन र निजी घर गरी १३५ संरचनामा क्षति पुर्‍याएको छ। तीमध्ये १२८ वटा निजी घर, दुई विद्यालय र पाँच सामुदायिक भवनमा क्षति पुगेको छ। अधिकांश संरचनाको छानो पूर्ण तथा आंशिक रूपमा उडाएको जनाइएको छ।

सबैभन्दा बढी क्षति निजी आवासमा पुगेको छ। विवरणअनुसार कटारी नगरपालिकामा ६३, ताप्लीमा ३२, लिम्चुङबुलमा २५, उदयपुरगढीमा ४, रौतामाईमा २ र चौदण्डीगढीमा २ घरको छानो उडाउँदा मात्र एक करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ। प्रायः जस्तापाताले छाएका काठे घर तथा ढुंगामाटो, बाँस र फुसका संरचनाहरू प्रभावित भएका छन्।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक केदारमान दोङ का अनुसार हावाहुरीका कारण कटारी–५ तिनकुनेचौकका ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको मृत्यु भएको छ।

घटनामा ४६ वर्षीय लीलाबहादुर दनुवार र २० वर्षीया कमलकुमारी मगर गम्भीर घाइते भएका छन्। घाइतेमध्ये कमलकुमारीलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार व्यापक क्षति भएकाले पूर्ण विवरण संकलन गर्न तीन दिन लागेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।