लोड हुँदैछ...

मेनु

हावाहुरी पीडितलाई जस्ता वितरण गर्ने नगरपालिकाको निर्णय

हावाहुरी पीडितलाई जस्ता वितरण गर्ने नगरपालिकाको निर्णय

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ले हावाहुरीबाट प्रभावित परिवारलाई राहतस्वरूप जस्ता पाता वितरण गर्ने निर्णय गरेको छ।

हावाले घरको छानामा पूर्ण रूपमा क्षति पुर्‍याएका पीडितलाई तत्काल जस्ता उपलब्ध गराउने तयारी गरिएको हो।

गत चैत २ गते साँझ आएको हावाहुरीले ५२ घरको छाना पूर्ण रूपमा उडाइदिएको नगरपालिकाको तथ्यांक छ। प्रभावितमध्ये हलेसी तुवाचुङ–१ बाहुनीडाँडाका १२, वडा नं. २ डिकुवाका ४, वडा नं. ३ च्यास्मीटारका २८, वडा नं. ८ धितुङका ३ र वडा नं. ११ राजापानीका ५ घरपरिवारलाई जस्ता वितरण गरिने नगर प्रमुख बिमला राईले जानकारी दिइन्।

छाना उडाएर खुला आकाशमुनि बस्न बाध्य पीडितलाई राहत दिन विपद् व्यवस्थापन कोषबाट जस्ता खरिद गरिनेछ। थप राहत रकम चैत ९ गते बस्ने हिउँदे सभाबाट बजेट संशोधन गरी व्यवस्थापन गरिने योजना नगरपालिकाले बनाएको छ। घरको आकार अनुसार जस्ता वितरण गरिनेछ भने हालसम्म ३१ परिवारलाई त्रिपाल वितरण भइसकेको छ।

यसैबीच, पूर्ण रूपमा घरविहीन बनेका तीन परिवारलाई ढुंगामाटोको घर निर्माणमा सहयोग गरिने पनि नगरपालिकाले जनाएको छ। हावाहुरीका कारण पालिकाकका ७ वटा विद्यालयमा समेत क्षति पुगेको छ। बाहुनीडाँडास्थित मालिकादेवी मावि कदुवा, पञ्चावतीदेवी आवि बेता र बेलडाँडा आवि ढोडेनी, च्यास्मीटारका नमुना आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालय, साथै राजापानीका जलन्धारा र सरस्वती आधारभूत विद्यालयको छाना उडाएर क्षति पुर्‍याएको छ।

वडा अध्यक्ष रुद्र राईका अनुसार बरडाँडा सामुदायिक खोप केन्द्रसहित अन्य सामुदायिक संस्था तथा मण्डलीहरूमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds