संखुवासभा । संखुवासभामा अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईलाई बुधबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको हो।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो। सरुले बुधबार बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रियामार्फत शिशुको जन्म दिएकी थिइन्।
बच्चा जन्माएपछि अत्यधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई तत्काल उद्धार गर्नुपरेको थियो। जिल्ला अस्पताल संखुवासभाका प्रमुख सन्तोष देव का अनुसार उनलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको छ।
चालु आर्थिक वर्ष २०८२–८३ मा मात्रै संखुवासभाबाट एक दर्जन सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार भइसकेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।