विर्तामोड । पूर्वी नाका काँकडभिट्टा हुँदै चालू आर्थिक वर्षको आठ महिनामा ६ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्।
अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईका अनुसार आर्थिक वर्ष २०८२–८३ को साउनदेखि फागुनसम्म अमेरिका, बेलायत, भूटानलगायतका देशका पर्यटक सो नाका प्रयोग गरेर नेपाल आएका हुन्।
साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मंसिरमा ८७३, पुसमा १ हजार ८५०, माघमा १ हजार ३९५ र फागुनमा १ हजार ५ जना पर्यटक काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका छन्। उक्त अवधिमा अध्ययन तथा अन्य कामका लागि विदेशमा रहेका ३ हजार १३३ नेपाली पनि सोही नाका हुँदै स्वदेश फर्किएको भट्टराईले जानकारी दिए।
अध्यागमन प्रक्रिया पूरा गरेर नेपालबाट विदेश गएका तेस्रो मुलुकका पर्यटकको संख्या ६ हजार ५५२ रहेको छ भने १ हजार ८४७ नेपाली पनि सोही नाका हुँदै विदेश गएका छन्। गत आर्थिक वर्ष २०८१–८२ मा सो नाका हुँदै ८ हजार ७२३ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए।
गत वर्षको तुलनामा काँकडभिट्टा नाका भएर पर्यटक आउने क्रम केहि घटेको देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।