लोड हुँदैछ...

मेनु

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार १४ अर्ब ५५ करोड रुपैयाँ

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार १४ अर्ब ५५ करोड रुपैयाँ

विराटनगर । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार देखिएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको बजार बिहीबार भने बढेर बन्द भएको हो।

नेप्से परिसूचक बिहीबार २३.८७ अंकले बढेर २८२०.४४ बिन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ५.०१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७२ अंकले उकालो लागेको छ।

सूचकसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन बुधबार १३ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ३३५ स्टकको १ लाख ३० हजार १५ पटकको कारोबारमा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँ बराबरको ४ करोड १६ लाख ८६ हजार कित्ता सेयर किनबेच भएको छ।

यस दिन दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सकारात्मक सर्किट लाग्नेमा साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्स रहेका छन्। त्यस्तै नेशनल हाइड्रोपावर कम्पनी र होटल फरेष्ट इन को सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने दरमखोला हाइड्रो इनर्जी को सेयर मूल्य करिब साढे ९ प्रतिशतले उकालो लागेको छ। घटेका कम्पनीहरूको मूल्य गिरावट भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी को करिब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने कुमारी बैंक को कारोबार रकम साढे ४४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहहरूमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०२ प्रतिशतले बढेको छ। त्यस्तै विकास बैंक, वित्त, जलविद्युत र लगानी उपसमूहमा पनि वृद्धि देखिएको छ। होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।