विराटनगर । पूर्वी नेपालको औद्योगिक पहिचान बोकेको जुट उद्योग यतिबेला गम्भीर संकटमा परेको छ । बंगलादेश र भारतबाट हुने कच्चा जुटको आयातमा उल्लेख्य गिरावट आएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट मिलहरूले आफ्नो उत्पादन क्षमतामा ६० प्रतिशतले कटौती गरेका छन् । उत्पादन घटेसँगै यस क्षेत्रमा कार्यरत झण्डै ३ हजार मजदुरले रोजगारी गुमाएका छन् ।
नेपाल जुट व्यवसायी संघका केन्द्रीय अध्यक्ष राजकुमार गोल्छाका अनुसार कच्चा पदार्थको अभावमा उद्योगहरू पूर्ण क्षमतामा चल्न नसक्दा यो अवस्था सिर्जना भएको हो । अहिले करिडोरमा ४ वटा जुट उद्योग सञ्चालनमा छन्, जसको कुल उत्पादन क्षमता दैनिक २४० मेट्रिक टन हो । तर, कच्चा पदार्थ नभएकै कारण हाल करिब १०० टनको हाराहारीमा मात्रै उत्पादन भइरहेको छ ।
अध्यक्ष गोल्छाले भने, “हामीले अहिले ४० प्रतिशत मात्र उत्पादन गरिरहेका छौँ । बंगलादेशले सेप्टेम्बरदेखि जुट बिक्री घटाएको छ भने भारतले आफ्नै उद्योगलाई नपुगेर निर्यात रोकेको छ । थोरै–थोरै कच्चा पदार्थ ल्याएर जेनतेन उद्योग टिकाइरहेका छौँ ।”
उत्पादन कटौतीको प्रत्यक्ष मार श्रमिकहरूमा परेको छ । यसअघि जुट उद्योगहरूमा झण्डै १० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाउँदै आएकोमा अहिले ३ हजारभन्दा बढीको रोजगारी खोसिएको छ । कच्चा जुटको आपूर्तिमा सुधार नभए थप जनशक्ति कटौती गर्नुपर्ने बाध्यता रहेको उद्योगीहरू बताउँछन् । उद्योगी रमेशकुमार राठीका अनुसार अहिले उद्योगहरूसँग १० दिनदेखि बढीमा एक महिनालाई पुग्ने मात्रै कच्चा पदार्थ मौज्दात छ ।
भारत र बंगलादेशमा किन घट्यो उत्पादन ?
पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा नेपालले कच्चा पदार्थमा निर्भर रहनुपर्ने भारत र बंगलादेश दुवै देशमा उत्पादन घटेको देखिएको छ । मुख्य गरेर प्रतिकुल मौसमका कारण बंगलादेशमा जुटको उत्पादनमा झण्डै ७ प्रतिशतले गिरावट आएका कारण त्यसको पत्यक्ष असर नेपाली जुट उद्योगमा पनि परेको हो ।
बंगलादेशको तथ्यांक अनुसार आर्थिक वर्ष २०२२–२३ मा १५.१४ लाख मेट्रिक टन जुट उत्पादन भएकोमा २०२४–२५ मा यो घटेर १४.४० लाख मेट्रिक टनमा खुम्चिएको छ । गत वर्षको अप्रिल–मे महिनाको अत्यधिक गर्मी र पछि जुलाईमा आएको बाढीले जुट उत्पादनमा ठूलो असर परेको हो । यस बाहेक किसानहरू जुट छोडेर अन्य खेतीतर्फ आकर्षित भएपछि जुट खेती गर्ने क्षेत्रफल पनि घट्दै गएको बताइएको छ ।
त्यस्तै, भारतमा पनि जुटको उत्पादन ओरालो लागेको छ । आर्थिक वर्ष २०२१–२२ मा १८.३१ लाख मेट्रिक टन उत्पादन भएकोमा २०२४–२५ मा १५.३१ लाख मेट्रिक टन झरेको त्यहाँको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । भारतको पश्चिम बंगालमा मात्रै ८० प्रतिशत जुट उत्पादन हुने गर्दछ । त्यहाँका किसानहरुले जुट खेतीको साटो तोरी र मकै खेतीलाई प्राथमिकता दिँदा जुट उत्पादन घटेको हो ।
नेपालमा पनि जुट खेती निरन्तर घट्दै जाँदा उत्पादन निरन्तर ओह्रालो लागिरहेको छ । त्यसबाहेक जलवायु परिवर्तन तथा बाली विविधीकरणका कारण उत्पादन घट्दा जुटमा आधारित उद्योगहरु धराशायी बन्दै गएका छन् । त्यसले रोजगारीको अवसरसमेत गुमाउनु पर्ने अवस्था सिर्जना गरिदिएको छ ।
हाल अधिकांश उद्योगहरू तीन सिफ्टको सट्टा दुई सिफ्टमा चलाउन थालिएको छ भने केहीले उत्पादन प्लान्टका आधार मेसिन मात्र चलाएर व्यवस्थापन मिलाइरहेका छन् । कच्चा पदार्थको सहज आपूर्तिका लागि सरकारले पछिल्लो समय कूटनीतिक पहलसमेत नगरेका कारण उद्योगीहरु अन्यौलमा छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।