विराटनगर । निर्वाचनपछि खुलेको सेयर बजारमा आएको प्रारम्भिक उत्साह दोस्रो दिन पनि टिक्न सकेन । अघिल्लो दिन तीव्र वृद्धि देखिएको बजार मंगलबार भने घटेको छ।
नेपाल स्टक एक्सचेञ्ज का अनुसार मंगलबार नेप्से सूचक ३२.०८ अंक अर्थात् १.११ प्रतिशतले घटेर २ हजार ८४३.३५ बिन्दुमा पुगेको छ।
निर्वाचनपछि खुलेको बजारमा अघिल्लो दिन सूचक करिब ६ प्रतिशतले बढेको थियो। खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत सिट जितेर स्थिर सरकार बन्ने अपेक्षाले लगानीकर्ताहरू उत्साहित हुँदा बजार उकालो लागेको विश्लेषण गरिएको थियो। सो दिन बजारमा लगातार तीनपटक सकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित गरिएको थियो।
तर, दोस्रो दिन भने बजारमा तीव्र उतारचढाव देखियो। कारोबार सुरु भएपछि सूचक दिउँसो १२ः३५ बजे करिब २७९६ अंकसम्म झरेको थियो। त्यसपछि केही सुधार हुँदै अन्तिम समयमा २८४३ अंकमा कायम भयो।
सूचक घटेपनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। मंगलबार दोस्रो बजारमा २१ अर्ब ५० करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। यस दिन ५ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ। यो साढे सात महिनायताकै उच्च कारोबार रकम हो। यसअघि साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
अघिल्लो दिन बजारमा सर्किट ब्रेक लागेर कारोबार रोकिएकाले धेरै लगानीकर्ताले सेयर किनबेच गर्न नपाएको अवस्था थियो। त्यसैले दोस्रो दिन लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा कारोबार रकम उच्च भएको विश्लेषकहरूको भनाइ छ।
मंगलबार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। क्षेत्रगत सूचकमा निर्जीवन बीमा ०.४७ प्रतिशत र जीवन बीमा ०.५१ प्रतिशतले बढेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहका सूचक भने घटेका छन्।
यस दिन दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। १० प्रतिशतले बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंक रहेका छन्। त्यस्तै थ्रीस्टार हाइड्रोपावर को ९.०८ प्रतिशत, कालिका पावर को ८.८७ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल को ५.४२ प्रतिशतले मूल्य बढेको छ।
त्यसैगरी हिमस्टार ऊर्जा को सेयर मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत्, अपी पावर कम्पनी, रिडी पावर कम्पनी र शिवम् सिमेन्ट सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।