लोड हुँदैछ...

मेनु

नेप्सेमा तेस्रो सर्किट ब्रेकपछि आजको कारोबार बन्द

नेप्सेमा तेस्रो सर्किट ब्रेकपछि आजको कारोबार बन्द

विराटनगर । सेयर बजारमा आज लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ । नेप्से कुल ६ प्रतिशत बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो ।

यो बृद्धिपछि नेप्से परिसूचक १६२ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २८७५ मा कायम भएको छ । त्यस्तै ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिनिधिसभा निर्वाचनपछि खुलेको शेयर बजारमा उच्च बृद्धि भएको हो । हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुईतिहाई नजिक पुगेको छ । जसले स्थिर सरकार निर्माण हुने भएकोले लगानीकर्ताको विश्वास बढ्न गई बजारमा प्रभाव देखिएको हो ।

आज कारोबार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेट स्थगितपछि खुलेको बजारमा फेरि अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ४० मिनेट स्थगित भइ खुलेको बजारमा अर्को एक मिनेट नपुग्दै सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको हो ।

यस दिन २५२ कम्पनीको मूल्य बढेको छ भने एउटा कम्पनी रिलायन्स स्पिनिङ मिल्सको घटेको छ । आज बैंकिङ ६.९२, विकास बैंक ५.९१, फाइनान्स ५.४७, होटल तथा पर्यटन ५.७३, हाइड्रोपावर ६.८१, लगानी ७.०६, जीवन बीमा ४.६७, उत्पादन तथा प्रशोधन ५.३०, माइक्रोफाइनानस ४.०७, निर्जीवन बीमा ३.७४, अन्य ५.५६ तथा व्यापार ७.७३ प्रतिशत बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।