विराटनगर । विराटनगर । मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा मतगणना सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले दिएको जानकारी अनुसार मोरङ क्षेत्र नं. १, ४ र ५ मा मतगणना कार्य जारी रहेको छ । बाँकी रहेका क्षेत्र नं. २, ३ र ६ मा भने शुक्रवार बिहान ६ बजेदेखि मात्रै मतगणना सुरु गर्ने गरी सर्वदलीय सहमति भएको उनले जानकारी दिए ।
जिल्लाका कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदानमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ, जसमा २ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्य लिङ्गी मतदाता रहेका छन् ।
क्षेत्रगत रूपमा हेर्दा मोरङ क्षेत्र नं. ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत अर्थात् ७८ हजार ५२९ मत खसेको छ । यस्तै क्षेत्र नं. ४ मा ६७.१५ प्रतिशत अर्थात् ८० हजार ६४ मत र क्षेत्र नं. ६ मा ६६.२३ प्रतिशत अर्थात् ९१ हजार २९२ मत खसेको छ । त्यसैगरी क्षेत्र नं. २ मा ६२.९७ प्रतिशत अर्थात् ८१ हजार ३४५ मत र क्षेत्र नं. ३ मा ६१.१७ प्रतिशत अर्थात् ९६ हजार ६७७ मत खसेको छ भने निर्वाचन क्षेत्र नं.१ मा सबैभन्दा कम ६०.३६ प्रतिशत अर्थात् ७७ हजार ५८५ मत खसेको हो । अहिले गणना सुरु भएका तीन वटै क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।