विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा रहेको विराटनगर अहिले पूर्णतः चुनावी माहोलमा होमिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन विराटनगरका विभिन्न क्षेत्रमा मतदान र मतगणनास्थलहरू निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । प्राप्त पछिल्लो दृश्यहरूले निर्वाचन आयोग र स्थानीय प्रशासनको सक्रियतालाई प्रष्ट पारेको छ ।
विराटनगरको ऐतिहासिक शैक्षिक संस्था आदर्श माध्यमिक विद्यालयलाई यसपटक पनि मुख्य मतगणनास्थलको रूपमा तयार गरिएको छ । मतगणनालाई विवादरहित र सुरक्षित बनाउनका लागि विद्यालयका कोठाहरूमा फलामको तारजाली लगाइएको छ ।
मतगणना गर्ने कर्मचारीहरू (गणकहरू) बस्ने ठाउँमा भुइँमा सेतो कपडा र चट्टी (गद्दा) ओछ्याइएको छ । गणकहरू तारजालीभित्र सुरक्षित रूपमा बसेर मतपत्र गणना गर्नेछन् भने राजनीतिक दलका प्रतिनिधिहरू र उम्मेदवारका एजेन्टहरूका लागि तारजाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ । यो व्यवस्थाले गणना प्रक्रियामा हुन सक्ने सम्भावित झडप वा मतपत्र लुटिने जस्ता घटनालाई रोक्न मद्दत पु¥याउने छ ।
आदर्श विद्यालयका कोठाहरुलाई नै मतगणनास्थलका रूपमा तोकिएको छ, जहाँ सुरक्षाका लागि सिसीटिभी क्यामेरा समेत जडान गर्ने तयारी छ । विराटनगर वडा नम्बर २ मा रहेको जनता नमुना माध्यमिक विद्यालयमा पनि मतदानका लागि तयारी गरिएको छ । विद्यालयको प्राङ्गणमा बाँसका कडा ब्यारिकेडहरू निर्माण गरिएका छन्, जसले मतदाताहरूलाई लाइनमा बसेर मतदान गर्न सहज बनाउनेछ ।
मतदान अधिकृत र कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा खटिसकेका छन् । गुलाबी र सेतो रङको कपडाले बेरिएका मतदान केन्द्रहरूले चुनावी रौनकलाई थप उज्यालो बनाएको छ । यहाँ सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरीको बाक्लो उपस्थिति देखिन्छ, जसले सुरक्षा व्यवस्था चुस्त रहेको संकेत गर्छ ।
विराटनगरका अन्य महत्वपूर्ण क्षेत्रहरूमा पनि मतदान केन्द्र निर्माणको काम सकिएको छ । विराटनगर वडा नम्बर १० मा रहेको प्रसिद्ध सनसरीमाइस्थान र वडा नम्बर ९ को सरस्वती माध्यमिक विद्यालयमा मतदान केन्द्रहरू पनि तयार पारिएका छन् ।
सनसरीमाइस्थानमा मतदाताहरूको चापलाई मध्यनजर गर्दै फराकिलो स्थानमा बाँसका घेराबारहरू लगाइएको छ । सरस्वती स्कुलमा पनि कर्मचारीहरूले मतपेटिका राख्ने र गोप्य मतदान गर्ने स्थलको व्यवस्थापन गरिसकेका छन् । यी सबै स्थानमा कर्मचारीहरू नियुक्ति पत्र र निर्वाचन सामग्रीसहित उपस्थित भइसकेका छन् ।
यस वर्षको निर्वाचनमा सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । सुरक्षाकर्मीहरू मतदानस्थलको वरपर कडा पहरा दिइरहेका छन् । विराटनगरको सुरक्षा संवेदनशीलतालाई बुझ्दै प्रशासनले मतदानस्थलमा मोबाइल फोन निषेध गर्ने र मदिराजन्य पदार्थको बिक्रीमा रोक लगाउने जस्ता नियम लगाएको छ ।






















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।