लोड हुँदैछ...

मेनु

कोशी प्रदेशका ३५ लाख ७५ हजार मतदाताले मतदान गर्ने तयारी पुरा

कोशी प्रदेशका ३५ लाख ७५ हजार मतदाताले मतदान गर्ने तयारी पुरा

विराटनगर । कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा ३५ लाख बढि मतदाताले बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न अन्तिम तयारी गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोजका प्रदेशभर ३५ लाख ७४ हजार ३ सय १० मतदाता रहेका छन् । जसमा १८ लाख २८ हजार २ सय १३ पुरुष, १७ लाख ४६ हजार ७३ महिला र २४ जना अन्य रहेका छन् ।

निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । मतदान केन्द्र निर्माणदेखि सुरक्षाकर्मी परिचालन सम्मका सबै कार्य अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालका अनुसार अधिकांश मतदान केन्द्रमा भौतिक व्यवस्थापन सकिएको र बाँकी रहेका सामान्य कामहरू आजै साँझसम्ममा टुङ्गिने छ । मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी सबै केन्द्रमा पुगिसकेको उनले बताए ।

निर्वाचन आयोगले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिएर निर्धक्क भई मतदान गर्न सबै मतदातालाई अपिल गरेको छ । भौगोलिक रूपमा विकट मानिने हिमाली जिल्लाहरूमा पनि विशेष सञ्चार र ढुवानीको व्यवस्था मिलाइएकाले आयोगले जनाएको छ ।

कोशीका ताप्लेजुङ सङ्खुवासभा र सोलुखुम्बुमाका हिमपात हुने पालिकाका मतदान स्थलहरूमा मतदान प्रक्रियामा कुनै बाधा नपर्ने आयोगले जनाएको छ । निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायले विशेष रणनीति अपनाएको छ । प्रदेशका १ हजार ९०७ मतदानस्थलमध्ये ४३९ लाई ‘अति संवेदनशील’ र ८२१ लाई ‘संवेदनशील’ सूचीमा राखेर सुरक्षा कडा पारिएको छ ।

नेपाली सेनाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रदेशका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरेको छ । शङ्कास्पद वस्तु वा गतिविधि देखिए तत्काल रेस्पोन्स गर्ने गरी सुरक्षा गस्ती र मोबाइल टोलीलाई सक्रिय बनाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कारागार, वृद्धाश्रम र सुरक्षा निकायमा रहेका मतदाताका लागि २४ वटा अस्थायी मतदान केन्द्रको समेत व्यवस्था गरिएको छ ।
 मौन अवधि सुरु भएसँगै निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिएको छ । सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसार, भोजभतेर र समूहगत प्रदर्शनमाथि प्रहरीले सूक्ष्म निगरानी गरिरहेको आयोगले जनाएको छ ।

आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।