विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ जिल्लामा ६ वटै निर्वाचन क्षेत्रबाट गणना गरिने भएको छ । यसपटक निर्वाचनको परिणामलाई छिटो र व्यवस्थित बनाउन मोरङका ६ वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
उनका अनुसार विगतमा ४, ५ र ६ नम्बर क्षेत्रका एकै स्थानमा गर्दा समय धेरै लाग्ने र व्यवस्थापनमा चुनौती देखिएकाले यसपटक विकेन्द्रीकृत ढंगले मतगणना गर्न लागिएको हो ।
निर्वाचन क्षेत्र नं १ उर्लाबारी नगरपालिकामा गणना गर्ने भएको छ । त्यसैगरी क्षेत्र नं २ मा सिजुवा, रतुवामाईस्थित निर्वाचन अधिकृतको कार्यालयमा, निर्वाचन क्षेत्र नं ३ मा बेलबारीमा, निर्वाचन क्षेत्र नं. ४ मा सोमबारे हटियास्थित जनता माविमा, निर्वाचन क्षेत्र नं. ५ को सुनसरी–मोरङ सिँचाइ आयोजना (कोशी प्रोजेक्ट) को कार्यालयमा र निर्वाचन क्षेत्र नं ६ को आदर्श माविमा गणना गरिने भएको छ ।
मतगणनालाई पारदर्शी र सुरक्षित बनाउन सबै ६ वटै केन्द्रमा भौतिक पूर्वाधारको काम सकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालले भने, ‘हामीले सबै मतगणना स्थलमा सीसी क्यामेरा जडान गरेका छौँ । सुरक्षाका लागि तारजालीको घेराबार र चौबीसै घण्टा विद्युत आपूर्तिका लागि आवश्यक पूर्वाधार तयार पारिएको छ ।’
यसका साथै, निर्वाचन आयोगको निर्देशन अनुसार मतपेटिका ढुवानी र मतगणना स्थलको सुरक्षाका लागि सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।