लोड हुँदैछ...

मेनु

सर्लाही–३ का रास्वपा उम्मेदवार पनि कालोसूचीमा

सर्लाही–३ का रास्वपा उम्मेदवार पनि कालोसूचीमा

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही–३ बाट उम्मेदवार बनाएका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार उनलाई २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको छ । कालोसुची हालसम्म कायम रहेको छ। सूचीमा उनको नाम ८९६३५ नम्बरमा रहेको छ।

कलवार उम्मेदवारी मनोनयनको अघिल्लो दिन रास्वपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेकै दिन उनलाई उम्मेदवार बनाइएको थियो।

यसअघि धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी कालोसूचीमा रहेको आधारमा निर्वाचन आयोगले खारेज गरिसकेको छ। आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी रद्द गरिएको बताएका छन्। कलवारको बारेमा भने आयोगले कुनै निर्णय आयोगले गरेको छैन ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार कालोसूचीमा रहेका व्यक्ति उम्मेदवार हुन अयोग्य ठहरिन्छन्। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले कलवार कालोसूचीमा रहेको विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

२०७४ सालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका नरेन्द्र साह कलवार २०७९ मा टिकट नपाएपछि जनमत पार्टीमा गएका थिए। त्यसपछि पुनः एमाले फर्किए पनि यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाएपछि रास्वपामा प्रवेश गरी उम्मेदवार बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।