लोड हुँदैछ...

मेनु

विराटनगरमा होलीको रौनक कम, दोहोरो प्रभाव (फोटो)

विराटनगरमा होलीको रौनक कम, दोहोरो प्रभाव (फोटो)

विराटनगर । रङहरूको पर्व फागु पूर्णिमा अर्थान् होली आज तराई–मधेसका विभिन्न जिल्लाका साथै विराटनगरमा पनि मनाइँदैछ । तर, विगतका वर्षहरूको तुलनामा यसपटक विराटनगरका सडकहरूमा होलीको उत्साह र रौनक निकै कम देखिएको छ ।

विगतमा होलीका दिन विराटनगरका चोक–चोकमा देखिने मानिसहरूको हुलका हुल र ठूलो आवाजमा बज्ने डिजे यसपटक हराएको छ । सडकहरू तुलनात्मक रूपमा सुनसान देखिएका छन् । होलीको रौनक कम हुनुको मुख्य कारण भोलिका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन हो । निर्वाचनलाई मध्यनजर गर्दै विराटनगर लगायत सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई हेर्दै प्रशासनले सार्वजनिक स्थलमा डिजे बजाउन, होहल्ला गर्न र मदिरा सेवन गरेर सवारी साधन चलाउन पूर्ण प्रतिबन्ध लगाएको छ । सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिका कारण विगतमा जस्तो उछृङ्खल गतिविधि र ठूला समूहमा हिँड्ने मानिसहरू यसपटक बजारमा देखिँदैनन् ।

होलीमा रौनक कम हुनुको अर्को कारण हिंजो लागेको चन्द्रग्रहण पनि हो । ग्रहणका कारण यस वर्ष होली कहिले मनाउने भन्नेमा सर्वसाधारणमा केही अन्योल देखिएको थियो । कतिपयले ग्रहणकै दिन हिंजो होली मनाए भने चन्द्रग्रहण बार्नेहरू र धार्मिक विधि मान्नेहरूले आज मात्रै रंग दलेर होली मनाइरहेका छन् ।

यद्यपि बुधबार बिहानैदेखि केही युवाहरू सेतो टि–सर्टमा रङ दलेर सडकमा निस्किएका छन् । बालबालिकाहरू भने हातमा पिचकारी बोकेर आफ्नै पाराले होलीको मजा लिइरहेका देखिन्छन् । सडक किनारामा रहेका आइसक्रिम र बदाम सेकका पसलहरूमा फाट्टफुट्ट मानिसहरूको उपस्थिति छ । तर बजारका अधिकांश सटरहरू बन्द छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।