काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने दिन आगामी बिहीबार पनि आवश्यकताका आधारमा आन्तरिक हवाई उडान सञ्चालन हुने जनाएको छ।
प्राधिकरणले एक सूचना जारी गर्दै निर्वाचनको दिन देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता र यात्रुको चापअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ। सामान्यतया निर्वाचनका बेला सार्वजनिक यातायात बन्द हुने भए पनि हवाई सेवालाई भने आवश्यकताका आधारमा सुचारु राख्ने निर्णय प्राधिकरणले गरेको हो।
अन्तर्राष्ट्रिय उडानतर्फ भने मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्य सबै उडानहरू नियमित तालिकाअनुसार नै सञ्चालन हुनेछन्। मध्यपूर्वी देशहरूको उडानको हकमा भने सम्बन्धित देशको निर्णय र उडान हुने विमानस्थलको वस्तुस्थितिका आधारमा मात्र उडान तय गरिने प्राधिकरणले जनाएको छ।
‘मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिकाबमोजिम सञ्चालन हुनेछ, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समय मध्यपूर्वमा विकसित तनावपूर्ण र अस्थिर परिस्थितिका कारण ती क्षेत्रका धेरैजसो उडानहरू सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै तत्कालका लागि स्थगित वा प्रभावित हुँदै आएका छन्। सोही कारण निर्वाचनको दिन पनि ती क्षेत्रको उडान सुनिश्चित नरहेको र वायुसेवा कम्पनीहरूको संशोधित तालिकामा निर्भर रहने प्राधिकरणले प्रस्ट पारेको छ।
निर्वाचनको दिन उडान गर्ने यात्रुहरूले आफ्नो उडानको सुनिश्चितताका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न समेत प्राधिकरणले आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।