इलाम । मेची राजमार्ग अन्तर्गत इलामको माईखोला राजदुवाली खण्डमा सडक पुनर्निर्माणको काम सुरु भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए । लामो समयदेखि जमिन बगेर यातायात अवरुद्ध हुँदै आएको र गत असोज १८ को बाढीपहिरोपछि क्षतविक्षत भएको उक्त सडकमा अहिले मर्मत थालिएको उनले भने ।
बर्खा सुरु हुनुअगावै ग्याबिन वाल निर्माणका लागि फाउन्डेसनको काम थालिएको जानकारी दिँदै भट्टराईले यो काम पुरानै ठेक्का अन्तर्गत भइरहेको बताए । यहाँको जमिनभित्र पानी बग्ने समस्याले गर्दा सडक भासिने गरेको उल्लेख गर्दै यस पटक ड्रिलिङ गरेर पाइपमार्फत पानी निकालिने योजना रहेको उनले भने ।
अहिले सुक्खा मौसममा पनि सडक भासिने क्रम नरोकिएको भट्टराईले बताए । असोजको विपत्पछि मेची राजमार्ग मर्मतका लागि सङ्घीय सरकारबाट थप रकम नआएको उनले भने । यद्यपि, वैकल्पिक मार्गका रूपमा रहेका बेलासे, पुवाखोला र जोगमाईमा बेलिब्रिज निर्माणको कामलाई अघि बढाइएको उनले बताए ।
बेलासे पुलका लागि पर्याप्त बजेट नभए पनि बेलिब्रिज राखेर यातायात सञ्चालन गर्ने लक्ष्य रहेको भट्टराईले बताए । अन्य स्थानका बेलिब्रिजको ठेक्का लागिसकेको र आउँदो बर्खाअगावै काम सम्पन्न हुने उनले भने । जिल्लाभर १२ करोड रुपियाँभन्दा बढीको क्षति भए पनि हालसम्म पुनर्निर्माणका लागि २ करोड १९ लाख रुपियाँ मात्र बजेट स्वीकृत भएको उनले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।