झापा । झापाको क्षेत्र नं. ५ अन्तर्गत दमकमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा प्रहरीले १० जना पक्राउ गरेको छ ।
आचारसंहिता पालना गराउनका लागि निर्वाचन आयोगको निर्देशन अनुसार काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारीसाधनमा राखिएका झन्डा, स्टिकर तथा चुनाव चिह्न अङ्कित सामग्री हटाइरहेको छ । दमकको मुख्य चोक, बजारलगायत विभिन्न स्थानमा सुरक्षाकर्मीले सवारीसाधनको चेकजाँच कडाइका साथ सञ्चालन गर्दै आचारसंहिताविपरीतका गतिविधि रोक्न थालिएको हो । स्टिकर, झन्डा, पोस्टर तथा पम्प्लेट सवारीसाधनबाट हटाउन लगाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जानकारी दिए ।
लम्सालका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, शङ्कास्पद रूपमा हिँडडुल गर्ने १० जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
झापामा बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६ हजार ३८० अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ । अस्थायी मतदाताका लागि जिल्लाभर तीन वटा मतदान केन्द्रको व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । झापा कारागार, कर्मचारी मिलन केन्द्र (चन्द्रगढी) र दमक नगरपालिका कार्यालयपरिसरमा अस्थायी मतदान केन्द्र व्यवस्था गरिएको छ । झापा कारागारमा १०७ जना, कर्मचारी मिलन केन्द्रमा ५५६ जना र दमक नगरपालिका कार्यालयमा ३१५ अस्थायी मतदाताले मतदान गर्ने व्यवस्थापन मिलाइएको नेपालले बताए । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार कारागारका कैदीबन्दी, मतदान केन्द्रमा नखटिएका सङ्घीय, प्रदेश र स्थानीय तहका कर्मचारी र सुरक्षाकर्मीले अस्थायी मतदान केन्द्रमा गएर समानुपातिकतर्फ मतदान गर्ने छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।