लोड हुँदैछ...

मेनु

आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दै : ग्रहणसहित उदाउनेछ चन्द्रमा

आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दै : ग्रहणसहित उदाउनेछ चन्द्रमा

काठमाडौँ । आज (मंगलबार)साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । खगोलविद्हरूका अनुसार आज साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउनेछ ।

वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्यले यो ग्रहण विशेष र दुर्लभ किसिमको रहेको जानकारी दिए । काठमाडौँमा साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमा उदाउनेछ र उदाउँदा नै यसमा ग्रहण लागिसकेको हुनेछ । चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाँले ढाकिएको अवस्थामा देखिने आचार्यले बताए । ।

यो चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्हरूले बताएका छन् । सूर्यग्रहणले जस्तो चन्द्रग्रहणले आँखालाई कुनै असर नगर्ने हुनाले खुला ठाउँबाट नाङ्गो आँखाले सुरक्षित रूपमा ग्रहण हेर्न सकिनेछ । वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने गर्दछ ।

यसअघि गत भदौ २२ गते राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको थियो, जुन काठमाडौँबाट साढे तीन घण्टासम्म देखिएको थियो । खगोलविद्हरूका अनुसार अब नेपालबाट सूर्यग्रहण भने वि.सं. २०८४ सालमा मात्र देख्न पाइनेछ ।

खगोलीय नियमअनुसार सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दा ग्रहण लाग्ने गर्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्न जान्छ र चन्द्रग्रहण लाग्छ । यस्तै, चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहण लाग्ने गर्दछ ।

चन्द्रग्रहण लाग्दा पृथ्वीको रात परेको क्षेत्रका सबै बासिन्दाले एकैपटक ग्रहण देख्न सक्छन् भने सूर्यग्रहण पृथ्वीको निश्चित भागबाट मात्र देख्न सकिन्छ । सामान्यतया सूर्यग्रहण औँसीमा र चन्द्रग्रहण पूर्णिमाका दिन लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds