लोड हुँदैछ...

मेनु

निर्वाचन आचारसंहिता : मौन अवधि र मतदानको दिन के गर्न पाइन्छ, के पाइँदैन ?

निर्वाचन आचारसंहिता : मौन अवधि र मतदानको दिन के गर्न पाइन्छ, के पाइँदैन ?

विराटनगर । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले विशेष तयारी पुरा गरेको छ।

निर्वाचन हुनु ४८ घण्टा अगाडि अर्थात् फागुन १८ गते (आज) राति १२ः०० बजेदेखि मौन अवधि सुरु हुने भएकाले उक्त समयमा पालना गर्नुपर्ने आचारसंहिताका बारेमा आयोगले कडा निर्देशन जारी गरेको छ।

निर्वाचन आयोगद्वारा जारी सूचना अनुसार मौन अवधि र मतदानको दिनमा निम्न अनुसारका कार्यहरू गर्न निषेध गरिएको छः

मौन अवधिमा के गर्न पाइँदैन ?
१. प्रचारप्रसारमा रोकः
कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन वा कार्यशाला गोष्ठी गर्न पाइने छैन।
२. प्रचार सामग्री हटाउनुपर्नेः मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्रीहरू मौन अवधि सुरु हुनुअघि नै हटाउनुपर्नेछ।
३. डिजिटल माध्यममा प्रतिबन्धः फेसबुक, टिकटक, अनलाइन वा अन्य सामाजिक सञ्जालमार्फत कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, शेयर वा प्रतिक्रिया दिन पाइने छैन।
४. आर्थिक लेनदेनमा रोकः उम्मेदवार वा राजनीतिक दलबाट कुनै पनि प्रकारको दान, उपहार वा आर्थिक सहयोग लिन वा दिन पाइने छैन।
५. सवारी साधन प्रयोगः मौन अवधिमा चुनाव प्रचारप्रसारका लागि कुनै पनि सवारी साधन प्रयोग गर्न पाइने छैन।

मतदानको दिन पालना गर्नुपर्ने नियमहरूः

१. पोशाक र चिन्हमा प्रतिबन्धः मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह, मत संकेत भएको पहिरन, ब्याज वा परिचय झल्किने कुनै पनि वस्तु लैजान वा लगाउन पाइने छैन।
२. मतदाता ओसारपसारः मतदातालाई प्रभाव पार्ने गरी सवारी साधन प्रयोग गरेर आउजाउ गराउन वा कसैलाई लैजान र ल्याउन पूर्ण रूपमा निषेध गरिएको छ।
३. प्रवेशमा कडाइः मतदाता र आयोगले अनुमति दिएका व्यक्तिबाहेक अन्य कसैलाई पनि मतदान केन्द्रमा प्रवेश दिइने छैन।
४. सवारी अनुमतिः उम्मेदवार वा निजको प्रतिनिधिले मतदानको दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिएर एउटा मात्र सवारी साधन (चारपाङ्ग्रे, तीनपाङ्ग्रे वा दुईपाङ्ग्रे) प्रयोग गर्न पाउनेछन्।

निर्वाचन आयोगले यी नियमहरूको पूर्ण पालना गर्न सबै सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ। आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।