विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ । दलहरूले आफ्ना प्रचार प्रसार र चुनावी तयारीलाई अन्तिम चरणमा पुर्याउँदै गर्दा यस क्षेत्रको चुनावी परिणामको निकट अनुमानहरू पनि सुरु हुन थालेका छन् । विशेषगरी मधेशी समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा बहुदलीय प्रतिस्पर्धा हुने देखिए पनि पछिल्लो समय पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार शिवकुमार मण्डलको पक्षमा माहोल बलियो बन्दै गएको देखिएको छ । यस निर्वाचन क्षेत्रका निर्णायक मानिने रंगेली नगरपालिकाको वडा नं. ७, धनपालथानको वडा नं. ६, जहदाको वडा नं. ३ र विराटनगर महानगरपालिकाको वडा नं. १५ का मतदाताहरूको झुकाव यस पटक मण्डलतर्फ मोडिएको स्थानीयहरुको बुझाइ छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ को चुनावी नतिजालाई फर्केर हेर्दा यस क्षेत्रमा तीव्र त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । त्यसबेला स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल २१ हजार ८२० मत प्राप्त गरी विजयी भएका थिए भने तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार शिवकुमार मण्डल १७ हजार ४८६ मतका साथ दोस्रो र जनता समाजवादी पार्टीका राजकुमार यादव १७ हजार ३९० मत प्राप्त गरी तेस्रो स्थानमा रहेका थिए । यस पटक पनि यिनै मुख्य तीन पात्रहरू चुनावी मैदानमा उत्रिएका छन्, तर राजनीतिक समीकरण र मतदाताको मनोविज्ञानमा ठूलो फेरबदल आएको छ ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले यस क्षेत्रमा आफ्नो प्रत्यक्ष उम्मेदवार उठाएको थिएन र गठबन्धनका तर्फबाट शिवकुमार मण्डललाई सघाएको थियो । यद्यपि, मत परिणामले के देखाउँछ भने कांग्रेसको मत पूर्ण रूपमा ट्रान्सफर हुन सकेको थिएन । तथ्याङ्क अनुसार त्यस निर्वाचनमा नेपाली कांग्रेसले समानुपातिकतर्फ यस क्षेत्रमा २४ हजार ६२९ मत प्राप्त गरेको थियो भने तत्कालीन नेकपा माओवादी केन्द्रको समानुपातिक मत ७ हजार २२३ मात्र थियो । यी दुई दलको संयुक्त समानुपातिक मत ३१ हजार ८५२ हुने भए तापनि प्रत्यक्षतर्फ शिवकुमार मण्डलले १७ हजार ४८६ मत मात्र प्राप्त गरेका थिए, जसको अर्थ कांग्रेसको आधाजति मत मात्र उनलाई ट्रान्सफर भएको थियो । तर यस पटक परिस्थिति बदलिएको छ । शिवकुमार मण्डलले आफूलाई विकासवादी नेताका रूपमा स्थापित गरेका छन् र जनतासँगको निरन्तरको सामीप्यका कारण उनको लोकप्रियतामा वृद्धि भएको छ ।
यस निर्वाचनमा प्रतिस्पर्धी दलहरूले नयाँ र पुराना उम्मेदवारहरूलाई मैदानमा उतारेका छन् । नेपाली कांग्रेसले फुलकुमार लालवानीलाई उम्मेदवार बनाएको छ, तर मारवाडी समुदायका लालवानीको ग्रामीण क्षेत्रका मतदाताहरूसँग सहजै घुलमिल हुन नसक्नु उनका लागि चुनौती बनेको छ । नेकपा एमालेले मनोजकुमार अग्रवाललाई अघि सारेको छ, तर फेरिएको राजनीतिक परिवेश र स्थानीय मुद्दाहरूका कारण एमालेको स्थिति त्यति सहज देखिएको छैन । यस्तै, जनता समाजवादी पार्टीका राजकुमार यादव पटक–पटक उम्मेदवार बने पनि जित निकाल्न नसकेका र पार्टी विभाजनको असरका कारण कमजोर देखिएका छन् । अघिल्लो पटक अत्यधिक मतले जितेका उम्मेदवारले निर्वाचनपछि क्षेत्रको विकासमा खासै ध्यान नदिएको भन्दै स्थानीय मतदाताहरू आक्रोशित छन् । धेरै मतदाताहरूले अघिल्लो पटक शिवकुमार मण्डललाई हराएर गल्ती गरेको भन्दै यस पटक त्यो कमजोरी सुधार्ने बताउन थालेका छन् ।
धनपालथान र जहदा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टीको संगठन मजबुत हुनु मण्डलका लागि अर्को सकारात्मक पक्ष हो । रंगेलीमा एमाले र जहदामा जसपाको प्रभाव रहे पनि विराटनगर र ग्रामीण क्षेत्रका कांग्रेसका मतदाताहरूको एउटा ठूलो हिस्सा यस पटक मण्डलको पक्षमा उभिने संकेत देखिएको छ । शिवकुमार मण्डल स्वयंले रंगेली, धनपालथान र जहदामा आफ्नो पक्षमा अभूतपूर्व माहोल बनेको र चुनाव जित्नेमा कुनै शंका नरहेको दाबी गरेका छन् । जनताले अघिल्लो पटकका उम्मेदवारको आश्वासन र अहिलेको रिक्ततालाई तुलना गरिरहेकाले उनको जित हुने विश्लेषण गरिएको छ । यदि निर्वाचनमा ठूलो आर्थिक चलखेल नभई निष्पक्ष र स्वतन्त्र वातावरण कायम रहेमा मोरङ ५ को परिणाम पूर्वमन्त्री शिवकुमार मण्डलको पक्षमा जाने अवस्था छ । स्थानीय तहका निर्णायक वडाहरूमा देखिएको उत्साहजनक माहोलले मण्डलको विजय यात्रालाई सन्निकट बनाइदिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।