लोड हुँदैछ...

मेनु

‘जनताको भरिया’ बन्ने पौडेलको प्रतिबद्धता

‘जनताको भरिया’ बन्ने पौडेलको प्रतिबद्धता

धनकुटा । नेपाली कम्युनिस्ट पार्टीबाट धनकुटामा आगामी प्रतिनिधिसभा सदस्यका उम्मेदवार धर्मराज पौडेलले धनकुटाका नागरिकका समस्या समाधानको जिम्मेवारी आफूलाई दिन मतदातासँग आग्रह गरेका छन्।

सोमबार बिहान धनकुटामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफूलाई ‘जनताको भरिया’ का रूपमा प्रस्तुत गर्दै जिल्लाको विकास, सुशासन र जनजीविकाको भार बोक्न तयार रहेको बताए।

‘म भरिया हुँ, धनकुटावासीको समस्या र अपेक्षाको भारी बोक्न तयार छु, त्यो अवसर दिनुहोस्,’ उनले भने। विगतमा विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै अब पारदर्शी, जवाफदेही र परिणाममुखी नेतृत्व आवश्यक रहेको धारणा राखे।

पौडेलले पार्टीको नाममा विवादित वा दाग लागेका उम्मेदवारलाई आँखा चिम्लेर मत नहाल्न आग्रह गर्दै मतदातालाई सक्षम र इमानदार उम्मेदवार छनोट गर्न अपिल गरे। सार्वजनिक स्रोत–साधनको दुरुपयोग हुन नदिने, बजेट कार्यान्वयनमा पारदर्शिता अपनाउने र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने योजना अघि सार्ने प्रतिबद्धता उनले व्यक्त गरे।

उनका प्रमुख एजेन्डामा कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको बजारीकरण, युवालाई स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना, पर्यटन प्रवर्द्धन, ग्रामीण सडक स्तरोन्नति, खानेपानी र सिँचाइ सुविधा विस्तार रहेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालय सुदृढीकरण तथा स्थानीय स्वास्थ्य संस्थाको क्षमता वृद्धि गर्ने योजना पनि उनले सार्वजनिक गरे।

पौडेलले आफू जातीय भेदभाव र छुवाछूतको कडा विरोधी रहेको स्पष्ट पारे। समाजमा विद्यमान विभेद अन्त्य गर्दै समानता, सामाजिक सद्भाव र समावेशी विकासलाई प्राथमिकता दिने उनले बताए। ‘धनकुटा सबै समुदायको साझा घर हो, यहाँ कुनै पनि प्रकारको विभेद स्वीकार्य छैन,’ उनले जोड दिए।

विपक्षीले लगाएका आरोपप्रति सचेत रहन आग्रह गर्दै उनले जनताको प्रत्यक्ष सहभागितामा विकास योजना निर्माण गर्ने प्रतिबद्धता जनाए। निर्वाचनपछि पनि निरन्तर जनसम्पर्कमा रहने र जनअपेक्षाअनुसार काम गर्ने वाचा उनले गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।