लोड हुँदैछ...

मेनु

आज रातिबाट सीमा नाका बन्द, निर्वाचन प्रचार गर्न नपाइने

आज रातिबाट सीमा नाका बन्द, निर्वाचन प्रचार गर्न नपाइने

विराटनगर । आगामी निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सरकारले आज मंगलबार मध्यरातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द गर्ने निर्णय गरेको छ।

मतदानको दिनसम्म सीमाबाट हुने आवागमन पूर्ण रूपमा रोकिने गृह मन्त्रालयले जनाएको छ।

निर्वाचन आचारसंहिता अनुसार मतदान हुनुअघि ७२ घण्टालाई ‘मौन अवधि’ मानिन्छ। यस अवधिमा कुनै पनि किसिमको चुनावी प्रचार–प्रसार गर्न पाइँदैन भने सीमा नाका बन्द गरी सुरक्षालाई कडाइ गरिन्छ।

गृह मन्त्रालयले सीमावर्ती जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई मध्यरातिदेखि नाका बन्द गर्न निर्देशन दिइसकेको जनाएको छ। नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन्। विशेषगरी भारततर्फ खुला सीमा रहेका कारण आवागमन रोक्न चुनौती हुनेभए पनि सुरक्षा संयन्त्र परिचालन गरी कडाइका साथ कार्यान्वयन गरिने बताइएको छ।

अन्तर्राष्ट्रिय उडानका यात्रुहरूका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने व्यवस्था गरिएको छ। सोमबारदेखि ३ दिनका लागि मोरङको जोगबनीसहित सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्मका लागि जोगबनी नाका बन्द रहनेछन् । निर्वाचनको मौन अवधिमा दुवै देशका नागरिकलाई आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ ।

यसैबीच निर्वाचन आयोगले मौन अवधिमा दल तथा उम्मेदवारहरूलाई कुनै पनि प्रकारको प्रचार–प्रसार नगर्न आग्रह गरेको छ। मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका चुनावी सामग्री मौन अवधि सुरु हुनुअघि हटाउनुपर्नेछ।

उम्मेदवार वा राजनीतिक दलको चुनाव चिह्न अंकित टोपी, स्टिकर, लोगो, झोला लगायत सामग्री प्रयोग वा प्रदर्शन गर्न पनि रोक लगाइएको छ। विद्युतीय माध्यमबाट हुने प्रचारसमेत प्रतिबन्धित गरिएको छ। एसएमएस, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जाल वा सञ्चार माध्यम प्रयोग गरेर मत माग्न वा प्रचार गर्न पाइने छैन।

सञ्चारमाध्यमहरूले पनि उम्मेदवार वा दलको पक्षमा प्रचार हुने सामग्री प्रकाशन वा प्रसारण गर्न नपाउने आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।