काठमाडौं । रास्वपाको चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र चामलसहितका सामान बरामद गरेको छ ।
सोमबार बिहान सल्यानको बन्गाड कुपिन्डे नगरपालिका १ सल्लीबजारबाट मदिरा र चामल बोकेको रास्वपाको चुनाब प्रचार गर्ने जीपबाट चालक र जिपमा सवार एक जना पनि पक्राउ परेका छन् ।
सल्लीबजारबाट सामान लिएर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपका चालक सिद्धकुमाख गाउँपालिका ४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र ३७ वर्षीय मोहन बीसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिपमा निर्वाचनलक्षित चामल, खानेतेल र मदिराका कार्टुन लिएर गएको आशंकामा चालकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताए ।
जिपबाट २५ केजीका दुई बोरा चामल, गोली डायमण्ड लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन रकस्टार बियर र तीन कार्टुन खानेतेल बरामद भएको छ । रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले भने गाडीमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको रहेको दाबी गरेका छन् ।
सल्यानमा कर्णाली प्रदेश महामन्त्री ललितकुमार चन्द रास्वपा उम्मेदवार छन्। यसअघि शनिबार राति मोरङमा पनि प्रहरीले कांग्रेसको प्रचारमा प्रयोग भएको गाडी नियन्त्रणमा लिएको थियो। गाडीमा साढे ४ लाख नगद र कांग्रेसको प्रचारको पर्चा बरामद भएको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।