केपी ओली यस पटकको चुनावी मैदानमा राजनीतिक जीवनकै सबैभन्दा चर्को दबाबमा छन् । उनले बाहिर बोल्दा ‘मलाई डर लागेको छ’ नभने पनि भित्रभित्रै उनी काँपिरहेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा उनले यसपालि देखाएको सक्रियता, खटाइ र हस्याङ्फस्याङ देख्दा यो साबित हुन्छ । यो पंक्तिकारले सुनेसम्म र थाहा पाएसम्म उनी विगतमा यसरी कहिल्यै निर्वाचन क्षेत्रमा खटिएका थिएनन् । मतदाताको घर–घर र टोल–टोलमा पुग्नु परेको थिएन । एक–दुई ठाउँमा चुनावी सभा गरेपछि उनले चुनाव जितिहाल्थे । तर यसपालि खेल अप्ठेरो छ भन्ने कुरा ओली स्वयंलाई जति थाहा छ, त्यत्ति त ओलीका मुख्य प्रतिस्पर्धी बालेन साहलाई पनि थाहा छैन ।
यतिबेला ओली आफ्नो ‘क्षेत्र जोगाउन’कै लागि पसिना बगाइरहेका छन् । किनभने, आफ्नो रापतापपूर्ण र मखमली राजनीतिक जीवनको अन्त्यमा आफूले निर्ममतापूर्वक राजनीतिक गाली गर्ने बालेनसँग हारेर राजनीति, सत्ता र शक्तिको पारिलो मैदानबाट किनारीकृत हुन उनलाई किमार्थ स्वीकार छैन । भदौ २३ मा ज्यान बचाउनकै लागि हेलिकप्टर चढेर भागेको मान्छे फेरि जनतामा ‘मलाई मत दिनुहोस्’ भन्दै जाँदा ओलीको अनुहारमा कुनै रङ छैन, शिर ठाडो छैन । जनताको आँगनमा पुग्दा उनले तिखा–तिखा प्रश्नहरूको सामना गरिरहनु परेको छ । कति प्रश्नको त उनीसँग जवाफ नै छैन । बरु, ओलीको अन्तर्वार्ता लिन उनकै क्षेत्रमा पुगेका पत्रकारलाई उनकै कार्यकर्ताले ओलीकै पासमा निर्घात कुटपिट गरेका छन् ।
ओली आफ्ना लागि ज्यादैआत्मविश्वासी मान्छे हुन् । भन्नेहरूले त उनलाई अहंकारी भन्छन् । ०६४ को संविधानसभाको पहिलो चुनावताका उनले कुनै चुनावी सभामा उभिएर ‘यस ठाउँमा भोट माग्न म आउनै पर्दैन, मेरो जुत्ता मात्रै राखिदिए पनि यहाँका मान्छेले मलाई भोट दिन्छन्’ भनेको कुरा चर्चित छ, जुन गलत होइन । तर नतिजा आउँदा ओलीले भन्ने गरेको ‘एउटा केटो’ २५ वर्षीय विश्वदीप लिङ्देनले उनलाई नराम्रोसँग उत्तानो पारिदिए । नत्र त्यसअघि र पछि ओलीले झापा–५ मा कहिल्यै चुनाव हार्नु परेन । यसपालि झापा–५ मा बालेन साह उनै ०६४ का विश्वदीप लिङ्देनको भाग–२ हुन सक्छन् ।
यसपालि ओलीलाई निकै डर लागेको छ भन्ने कुरा उनको खटाइ, हाउभाउ र बोलीबाट थाहा हुन्छ । उनमा तीव्र बेचैनी बढेको छ । र त उनले एकै महिनामा काठमाडौंबाट चार–पाँच पटकसम्म झापाको उडान भरे । सकी नसकी चुनावी क्षेत्रमा फन्को लगाइरहेका छन् । र, उनी हरदम बालेनलाई धारेहात लगाइरहेका हुन्छन् । तर बालेनको चुनावी दौड शान्त छ । चार वाक्य भाषाण गर्दा बालेनले आफ्ना कुरा राख्छन्, अरू वा प्रतिस्पर्धी ओलीको आलोचना गर्दैनन् । उखानै छ– कुकुर धेरै डराएको बेला जोडले भुक्छ । यो उखान यतिबेला झापा–५ मा ओलीसँग मिलेजस्तो देखिन्छ । तर एमालेजनले यो उखानलाई नकार्न पाउँछन् ।
यस क्षेत्रमा नजित्दा हार्ने ओली र बालेन साह नै हुन् । नेकपाका युवा उम्मेदवार रन्जित तामाङले जिते ‘सरप्राइज’ होला ! नजिते पनि उनले यो हारबाट गुमाउने केही छैन । तर बालेन र केपी ओलीले हार्दा उनीहरू दुवैको लगभग ‘सबथोक’ सकिन्छ । ओलीको राजनीतिक जीवन र शक्तिको चमकधमक सकिन्छ, बालेनले राजनीतिबाटै सन्यास लिन सक्छन् । तर रन्जित तामाङ हारे पनि उनलाई त फाइदै फाइदा छन् । यो चुनावले उनलाई ‘नेता’का रूपमा स्थापित गर्छ । र, अर्कोपटक उनी यस क्षेत्रका मुख्य विकल्प बन्छन् । त्यहीँको भुइँमान्छे, पढेलेखेको, बेदाग, राजनीति र समाजशास्त्र बुझेको, जनता र माटो चिनेको अनि भूगोल बाँचेको एक युवा नेताको शानदार उदय सूर्यको किल्ला झापा–५ बाट हुँदैछ । यो कुरा गलत होइन भन्ने कुरा रन्जित स्वयंलाई भन्दा धेरै ओली र एमालेलाई थाहा छ ।
राष्ट्रिय राजनीतिमा यतिबेला यदि कुनै दल सबैभन्दा बदनाम छ भने त्यो नेकपा एमाले हो । ओलीले आफू प्रधानमन्त्री छँदा दुई–दुईपटक संसद् विघटन गरेको घटना र जेनजी आन्दोलन क्रममा नेपाल धर्तीका नवयुवाले सत्ताबाट घिसारेर रछ्यानमा मिल्काए पनि ओली फेरि जनताबाटै अनुमोदन हुन होमिएका छन् । देशका चर्चित अधिकांश भ्रष्टाचारका काण्डमा ओली र उनका नजिकका मान्छेको नाम जोडिँदा पनि यसको क्षति एमालेलाई यसै चुनावमा पर्नेछ । क्षतिको साइज एमाले पंक्तिको कल्पनाभन्दा ठूलो पनि हुन सक्छ ।
ओली अस्ति भर्खर भएको महाधिवेशनबाट पुनः अध्यक्षमा चुनिए र पार्टीका तर्फबाट चुनावपछि प्रधानमन्त्रीका रूपमा अघि सारिए पनि चुनावी लडाइँमा ओली र एमालेले आफूलाई सबैभन्दा असुरक्षित ठानेका छन् । जनताका नजरमा पार्टी र नेतृत्वको छवि बिग्रिँदा यो चुनावी नतिजाले एमालेलाई खुम्च्याउने पक्का छ । र, त्यसपछि लगत्तै एमालेभित्र नेतृत्वको औचित्यलाई लिएर ‘विद्रोह’को स्वर बढ्नेछ । महाधिवेशनको पूर्वसन्ध्यामा योगेश भट्टराईले ठिकै भनेका थिए– ‘यही स्थितिमा ओलीको अनुहार लिएर चुनावमा जान सकिँदैन ।’
त्यो बेला भट्टराईले जे बोलेका थिए, आज दृश्य र मैदानमा त्यही देखिँदैछ । देशभरि एमालेका उम्मेदवारले आफ्नो प्रचार सामग्रीमा ओलीको तस्बिर राखेका छैनन्, सुरुमा राखेकाले पछि हटाए । ओलीको तस्बिर बिनै उम्मेदरवाले प्रचार सामग्री बनाएर मतदाताबीच पुगेर भोट मागिरहेका छन् । उनीहरूलाई यो राम्रोसँग थाहा छ– अहिले ओलीको तस्बिर देखाएर भोट माग्ने स्थिति छैन । जनता रिसाएका छन् ।
एक तहका जनता ओलीलाई भोट दिन त परकै कुरा, ओलीको तस्बिर भएको प्रचार सामग्री पढ्ने मुडमा समेत छैनन् । ओलीको जीवनमा यस्ता दिन किन आए ? यसको जवाफ उनीसँग बाहेक अरूसँग छैन । उनका लागि त यो प्रश्न नबन्ला । तर ओली प्रवृत्तिबाट रिसाएका मतदाताका लागि चैं लोकसेवा आयोगको प्रश्न जस्तै हो, जहाँ झापा–५ मा अहिले मतदाताले आँखामा आँखा जुधाएर ओलीलाई सोधिरहेका छन् । हारे वा जिते पनि, यो चुनाव ओलीका लागि राजनीतिक जीवनको ‘लास्ट डान्स’ हुन सक्छ । र, ओलीले फेरि ‘वान्स मोर’ भनेको सुन्न नपाउलान् !
अर्को तथ्य सम्झाऊँ– विगतका चुनावमा मुख्य–मुख्य सहरमा ओली पार्टीका अन्य उम्मेदवारका लागि भोट माग्न चुनावी सभामा जान्थे । चुनाव लागेपछि उनलाई देश दौडाहा गर्न भ्याइनभ्याइ हुन्थ्यो । के यसपालि पनि त्यस्तै छ ? छैन । ओली आफ्नो क्षेत्रभन्दा बाहिर कतै चुनावी सभामा भोट माग्न गएको देखिँदैन । उनी आफ्नो क्षेत्रमा मात्रै सीमित छन् । यसले के सन्देश दिन्छ ? पार्टीका अन्य शीर्ष नेता र उम्मेदवारलाई पनि थाहा छ– यसबेला ओलीलाई लगेर वा ल्याएर चुनावी सभा गर्न सकिँदैन । त्यसरी भोट माग्दा बिजोग हुन्छ । ओलीलाई उभ्याएर भोट माग्यो भने आउने भोट पनि आउँदैन भन्ने एमालेजनलाई राम्रैसँग थाहा छ । यही कुरा बाहिर भन्दै हिँड्न पो मिल्दैन त !
यदि अस्तिको महाधिवेशनमा ओलीले आफूलाई थचारेर आफ्नै रोजाइको जो कोही नेतालाई अध्यक्ष चुनेर पार्टीलाई चुनावमा पठाएका थिए भने आजकै जस्तै बिजोग हुँदैन थियो । नेपाली कांग्रेसमा जस्तै नेतृत्व परिवर्तन गरेर जनतासँग माफी माग्दै चुनावमा होमिएको भए फेरि पनि एमाले र कांग्रेस नै यस चुनावमा मुख्य प्रतिस्पर्धी बन्थे । तर आज एमालेलाई रास्वपाको लहरबाट डर छ । मुटु जति बलियो बनाउन खोजे पनि ‘घण्टी’ बजेको सुन्दा मन आत्तिहाल्छ । नत्र ओली मतदाताको घरदैलोमा पुगेर ‘भोट केमा’ भन्दा ‘घण्टीमा’ भन्दै जवाफ दिने आम मतदातालाई किन झम्टिनुपथ्र्यो ? यसको अर्थ यसपालि ओली आफ्नै रापिलो किल्लामा असुरक्षित छन् । अब यो चुनाव वृद्ध ओलीका केवल एउटा चुनाव मात्रै रहेन, जीवनै सबैभन्दा तनावपूर्ण र प्रतिष्ठाकै लडाइँ बनिसक्यो ।
सत्ता र शक्तिको भोक, अहङ्कार अनि पार्टीभित्रको दास प्रवृत्तिले ७४ वर्षीय ‘बदनाम’ ओलीलाई नै शिरमा राखेर एमालेलाई चुनावमा पठाउनु नै गल्ती थियो भन्ने कुरा यो चुनावले चित्त बुझ्ने गरी एमालेलाई जवाफ दिनेछ । यता, झापा–५ मा ओली सुरक्षित नदेखिनु, उता रूपन्देही–२ मा विष्णु पौडेलको ओठतालु सुक्नु र दाङ–२ मा देखिएको पार्टीका महासचिव शंकर पोखरेलको धमिलो अनुहारले एमालेको सूर्यमा ग्रहण लाग्ने संकेत देखाइरहेका छन् । यो चुनावको नतिजाबाट ओलीलाई अध्यक्ष बनाउने पुस ३ को महाधिवेशनमाथि प्रश्नहरूको पहाड खस्नेवाला छ । त्यहाँ संस्थापन इतर ईश्वर पोखरेल र विद्या भण्डारी लाइन ‘काखी बजाउन’ तयार भएर बसेका होलान् ।
एमालेका उम्मेदरवले आफ्नो चुनावी प्रचार सामग्रीमा ओलीको तस्बिर राख्न नसक्नु र ओली अन्य जिल्लाका चुनावी सभामा जान नसक्नु ओलीको राजीतिक बदनामीको बाछिटा हुन् । नत्र आज आफ्नो किल्लामा बालेनसँग डराएर चुनावका अन्तिम दिनहरूमा पनि झापा–५ मा ‘म्याच फिक्सिङ’ गर्न जोडबल गरिराख्नु पर्दैन थियो । यो कुरा साँचो भए पनि एमालेजनले बाहिर‘भित्री कुरा यही हो’ भन्दै हिँडेका छैनन् । त्यसरी हिँड्ने कुरा पनि भएन ।
कांग्रेसमा गगन थापा समूहले विद्रोह गरेर देउवाको बूढो सत्ता ढालेपछि यसको परोक्ष असर ओलीलाई परेकै छ । देउवा ओलीका लागि राजनीतिमा सधैं ‘सुख–दुःखका साथी’ थिए । मन मिल्दा र सत्ताको भोक लाग्दा अंगालो हाल्ने अनि झोंक चल्दा सँगै सुतेको ओछ्यान मुतेर गए पनि ओलीका लागि देउवा राजनीतिक मित्र मात्रै थिएनन्, जेल बस्दाका साथी पनि थिए । तर गगन थापाहरूको नयाँ उडानले देउवालाई मक्किएको रुखको जरा मात्रै छाडेपछि यतिबेला देउवा स्वयंभन्दा पनि ओली ज्यादा छटपटीमा देखिन्छन् । ओलीलाई अहिले एमाले र कांग्रेसको चिन्ता उत्तिकै देखिन्छ । देउवा कांग्रेसको सत्ता र शक्तिमा नहुँदा यो चुनाव दौरान ओली र एमालेलाई अप्ठेरो परेकै छ । यो कुरा ओली र महेश बस्नेतहरूलाई थाहा छ । तर भन्दै हिँड्नु पो भएन !
फागुन २१ को चुनावपछि के त ? कसले जित्छ, कसले सरकार बनाउँछ, को ठूलो दल बन्छ भन्ने कुराको जोखना अहिले नहेरौं । यो चुनावपछि एमाले र कांग्रेसको दुवैको साइज खुम्चिनेछ । धेरै दुब्लाउने एमाले हुनेछ । निर्मम भएर भन्ने हो भने एमाले र ओलीहरूलाई यो चुनावले ऐठन गराउनेवाला छ । तैपनि, ‘ओली बा’का प्रिय महेश बस्नेतहरू बाहिर प्रत्यक्षतर्फ ९० सिट र समानुपातिकमा ४०–४५ सिटको हिसाब जोड्दै क्यालकुलेटर हातैमा लिएर हिँडिरहेका छन् । तर यसो मुड हेर्दा थाहा हुन्छ– योगेश भट्टराई, गोकर्ण विष्ट, गोकुल बाँस्कोटाहरू चुनावपछि ओलीलाई ललकार्न औंला मुसार्दै बसेका छन् ।
देशैभरि फैलिएको रास्वपाको लहर झापा–५ मा पुग्दा ‘आँधीहुरी’ जस्तो बनेको छ । गुणका आधारमा बालेनलाई जिताउन होइन, ‘ओलीलाई हराउन’ घण्टीमा भोट हाल्ने एकथरी मतदाताको मनस्थिति झापा–५ मा ओलीका सबैभन्दा ठूलो खतरा देखिन्छ । जे होस्, बालेन र रवीको चुनावी दौडले झापा–५ मा ओलीको किल्ला जरैसँग हल्लाइरहेको छ । यदि ‘पार्टी नछाड्ने, सदस्यता नत्याग्ने तर यसपालि मत बदल्ने’ पुराना पार्टीका त्यहाँका मतदाताको लहर र अठोट फागुन २१ को बिहानसम्म टिक्यो भने ओलीले बनाइदिएको चिल्लो बाटोमा बालेन साहले विजयी जुलुस निकाल्न सक्छन् । वा, ओली र बालेनको घम्साघम्सीबीच ‘पब्लिक डिबेट’मा ओलीलाई किसानको धानको मूल्य सोध्ने रन्जित तामाङले‘सरप्राइज’ दिन पनि सक्छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।