विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवा–केशलिया सडक खण्डको कटहरीमा काम गरेको करिब साढे ५ करोड रुपैयाँ नपाएपछि ‘आर.सी. सप्लायर्स प्रालिले ठेकेदार कम्पनीविरुद्ध चेक बाउन्स मुद्दा दायर गरेको छ ।
पेटी ठेक्का लिएर काम गरेको ‘आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि’का सञ्चालकले ५ करोड ४५ लाख ६० हजार ५ सय ५ रुपैयाँ भुक्तानी नपाएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा हालेका हुन् । प्रालिले हेटौँडास्थित श्रेष्ठ कन्ट्रक्सनका सञ्चालक सुभास श्रेष्ठसहित तीन जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गराएका हुन् ।
हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको यो सडक स्तरोन्नतिका लागि श्रेष्ठ कन्ट्रक्सनले २३ कात्तिक २०७६ मा ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तीन वर्षभित्र (२३ कात्तिक २०७९) सम्पन्न गर्नुपर्ने भए पनि कामको प्रगति मात्र २५ प्रतिशत छ ।
यसैबीच, श्रेष्ठ कन्ट्रक्सनसँग एक वर्षअघि पेटी ठेक्का सम्झौता गरी गिरीको कम्पनीले काम अघि बढाएको थियो । सोही कामको भुक्तानी स्वरूप श्रेष्ठ कन्ट्रक्सनले आर.सी. सप्लायर्सलाई ५ करोड ४५ लाख ६० हजार ५ सय ५ रुपैयाँको नबिल बैंकको चेक दिएको थियो । ३ भदौ २०८२ को मिति राखिएको उक्त चेक बैंकमा पर्याप्त मौज्दात नभएर साटिएन ।
चेक बाउन्स भएपछि गिरीले १० माघमा उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले उक्त मुद्दामा १३ फागुनका लागि पहिलो तारिख तोकेको छ ।
‘म आफैँ पीडित हुँ’ : अभिषेक गिरी
काम गरेको रकम नपाउँदा आफू आर्थिक मारमा परेको अभिषेक गिरीले बताए । “सडक निर्माणको काम गरेबापतको पैसा नपाएर म आफैँ पीडित छु,’ गिरीले भने, “तर केही सञ्चारमाध्यमले मेरो नाम मुछेर मैले नै सडक अलपत्र पारेको भन्दै गलत प्रचार गरिरहेका छन् । हामीले काम गरेर पैसा नपाएपछि न्यायका लागि अदालत पुगेका हौँ ।’’ आफुमाथि राजनैतिक इगो राखेर बदनाम गर्न खोजिएको उनले बताए ।
लगातार ताकेता गर्दा पनि काम अघि नबढेपछि इटहरीस्थित योजना कार्यालयले श्रेष्ठ कन्ट्रक्सनसँगको ठेक्का सम्झौता तोडिसकेको छ । दुई पटक म्याद थप गर्दा पनि प्रगति नभएपछि गत जेठमा थपिएको म्याद सकिएसँगै ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो ।
योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार प्रतिबद्धता बमोजिम काम नगरेको र निर्माण स्थल ठप्प पारेकाले ठेक्का तोड्नु परेको हो । ५ किलोमिटर लामो यो सडक खण्ड अहिले अलपत्र अवस्थामा छ, जसका कारण स्थानीयले सास्ती भोग्दै आएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।