लोड हुँदैछ...

मेनु

ओलीको असली रूप: सञ्चार क्षेत्रका लागि सधैं ‘निर्दयी’

ओलीको असली रूप: सञ्चार क्षेत्रका लागि सधैं ‘निर्दयी’

नेपाली राजनीतिको रङ्गमञ्चमा केपी शर्मा ओली एउटा यस्तो पात्र हुन्, जसले शब्दको जादुमयी जाल बुनेर वर्षौंसम्म आम मानिस र सञ्चार जगत्‌लाई भ्रममा राख्न सफल भए । एक समय थियो, जब ओलीका उखान-टुक्का र विपक्षीमाथि गरिने तिखो प्रहार मिडियाका लागि ‘हट केक’ हुन्थ्यो । पत्रकारहरू उनको एउटा अन्तर्वार्ता पाउन मरिहत्ते गर्थे किनभने ओलीको कटाक्षले मिडियाको टिआरपी (TRP) र भ्युज बढाइदिन्थ्यो । तर, समयको कालखण्डले आज यो कुरा छर्लङ्ग पारेको छ कि—ओलीले मिडियालाई केवल आफ्नो राजनीतिक खुड्किलोको रूपमा उपयोग मात्र गरेनन्, बरु आफ्नो स्वार्थ पूरा भएपछि त्यही क्षेत्रलाई निर्ममतापूर्वक प्रहार गर्ने ‘भष्मासुर’ प्रवृत्ति पनि देखाए ।

केपी ओलीले नेपाली समाजलाई सकारात्मकतातर्फ डोहोर्‍याउनुभन्दा बढी नकारात्मकताको मलजल गर्न मिडियाको भरपुर प्रयोग गरे । अरूलाई अपमानित गर्नु, विरोधीको तेजोबध गर्नु र पशुपन्छीका बिम्ब प्रयोग गरेर पाँडे गाली गर्नु उनको ‘कला’ बन्यो । समाजले मनोरञ्जनका नाममा उनको अराजनीतिक टिप्पणीलाई उपभोग गरिरह्यो, तर त्यसको भित्रि पाटो यति विषाक्त थियो कि त्यसले अन्ततः देशमा ‘केही पनि भएको छैन’ भन्ने एउटा भयावह नकारात्मक भाष्य स्थापित गरिदियो । त्यही भाष्यको ओत लागेर उनले आफूलाई ‘सर्वज्ञानी’ सावित गर्ने प्रयास गरे । तर नियतिको खेल हेर्नुहोस्, जुन नकारात्मकता उनले फैलाए, अन्ततः त्यही ज्वालाले उनलाई प्रधानमन्त्रीको सिंहासनबाट ओरालेर सडकमा पछारिदियो ।

इतिहासदेखि नै प्रेसप्रति असहिष्णु
ओलीको सञ्चार क्षेत्रप्रतिको निर्दयी व्यवहार आजको नयाँ घटना होइन । २०६८ सालमा विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको साङ्घातिक आक्रमण यसको एउटा जीवित प्रमाण हो । एमाले कार्यकर्ता पर्शुराम बस्नेतको संलग्नता रहेको उक्त घटनामा पत्रकार ढकाललाई मृत्युको मुखमा पुर्‍याइँदा पनि ओलीको मन पग्लेन । बरु उनले दमकस्थित आफ्नै घरमा संरक्षण दिए । जब पत्रकारहरूले यसबारे प्रश्न गरे, उनले बडो अहङ्कारका साथ ‘बस्नेत मेरो खल्तीमा छ’ भन्दै कानुन र प्रेस स्वतन्त्रताको धज्जी उडाए । त्यो बेला नै प्रष्ट भइसकेको थियो कि ओलीका लागि प्रेस स्वतन्त्रता एउटा देखाउने दाँत मात्र हो ।

ओलीले आफ्नो १० वर्षे एमाले नेतृत्वकालमा सञ्चार क्षेत्रलाई केवल भजनमण्डली बनाउने प्रयास गरे । उनले सरकारमा रहँदा ल्याउन खोजेका सञ्चार विधेयकहरू प्रेसलाई घाँटी थिच्ने नियतले प्रेरित थिए । पत्रकारलाई जेल हाल्ने र ठुलो जरिवाना तिराउने प्रावधान ल्याएर उनले लोकतन्त्रको चौथो अङ्गलाई आफ्नो अधिनस्थ बनाउन खोजे । गत भदौमा एकै पटक २६ वटा डिजिटल पोर्टलहरू बन्द गराउनु र सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने कसरत गर्नु उनको अधिनायकवादी चरित्रको पछिल्लो कडी हो । ओलीलाई लाग्छ—आफ्नो प्रशंसा गर्नेहरू मात्र पत्रकार हुन्, आलोचना गर्नेहरू त उनका लागि ‘पाजी’ र ‘शत्रु’ हुन् ।

ताजा घाउ: अर्जुन आचार्यमाथिको आक्रमण
ओलीको प्रेस विरोधी क्रूरताको पछिल्लो उदाहरण फागुन १४ गते झापामा देखियो । आफ्नै अन्तर्वार्ता लिन बोलाइएको पत्रकार टोलीमाथि उनकै आडभरोसामा हुर्किएको ‘युथ भोलुन्टियर फोर्स’ले गरेको आक्रमण लज्जास्पद छ । ‘हाम्रोमत’ अनलाइनका कार्यकारी सम्पादक अर्जुन आचार्यमाथि सार्वजनिक स्थलमा भएको कुटपिट, मोबाइल लुटपाट र चस्मा फुटाइँदा पनि ओली र उनको सचिवालय मौन रहनुले एउटा डरलाग्दो सन्देश दिएको छ । केपी ओलीको नजरमा पत्रकारको रगत र पसिनाको कुनै मूल्य छैन । उनको टोली लुटिएको मोबाइल फिर्ता गर्ने ‘बार्गेनिङ’ गर्छ तर एउटा पत्रकारको आत्मसम्मानमा पुगेको चोटप्रति ‘सरी’ भन्ने नैतिकता राख्दैन । झन् विडम्बना त यो छ कि, एमाले निकट भनिएको पत्रकारहरूको संगठन ‘प्रेस चौतारी’ आफ्नै सहकर्मी कुटिँदा पनि लास र दास जस्तै मौन बसेर ओलीको भक्तिगानमा लम्पसार परेको छ ।

ओली आफूलाई कतिसम्म जान्ने बुझ्ने ठान्छन् भने उनी भगवान् शिवको थर ‘चाम्लिङ’ हो भनिदिन्छन् र रामको जन्मथलोको तथ्यहीन व्याख्या गर्छन् । तथ्य र प्रमाणबिनाका यस्ता हावादारी गफलाई समाचार बनाइदिने मिडिया उनका लागि प्रिय हुन्छन्, तर जब कोही पत्रकारले समाजको यथार्थ ऐना देखाउँछ, उनी त्यसलाई ‘बाटोको काँडा’ सम्झिन्छन् । ओलीलाई आलोचना सुन्ने बानी नै छैन । उनी केवल आफ्ना भजन गाउने कार्यकर्ता र देवत्वकरण गर्ने मिडियाको घेराभित्र रमाउन चाहन्छन् ।

निष्कर्ष: समयको बदलिँदो फैसला
समय सधैं एकनास रहँदैन । मार्क्सवादी दर्शन जप्ने ओलीले सायद यो भुले कि समय परिवर्तनशील छ । हिजो उनले मस्कट बनाएर ढोगाउँदा रमाउने समाज आज चेतनशील भइसकेको छ । भदौ २३ को ‘जेनजी’ युवाहरूको आन्दोलनले एउटा प्रष्ट सङ्केत दिइसकेको छ—जनता अब गाली र उखानको पछि लाग्ने छैनन् ।

झापा क्षेत्र नम्बर ५ मा आठौँ पटक चुनाव लडिरहेका ओलीका लागि यसपटकको यात्रा सहज छैन । प्रेसमाथि उनले गरेको निर्मम प्रहार र आफ्ना कार्यकर्तालाई दिएको गुण्डागर्दीको लाइसेन्स नै उनको राजनीतिक अवसानको कारण बन्ने देखिन्छ । फागुन २१ गते झापाका सचेत मतदाताले दिने सन्देशले ओली र उनको दल नेकपा एमालेलाई एउटा ऐतिहासिक पाठ सिकाउनेछ । सञ्चार क्षेत्रलाई शत्रु देख्ने र पत्रकारको रगतमाथि राजनीति गर्ने कुनै पनि शासकको अन्त्य सुखद भएको इतिहास छैन । ओलीको ओरालो यात्रा अब कसैले रोकेर रोकिने छैन, किनभने उनले आफैले रोपेको नकारात्मकताको विषवृक्ष अब उनकै लागि भारी बन्दैछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।