विराटनगर । मंगलबार सेयर बजारमा सकारात्मक रुझान कायम रहँदै नेप्से परिसूचक लगातार दोस्रो कारोबार दिन उकालो लागेको छ। अघिल्लो दिन सामान्य अंकले बढेर बन्द भएको बजारले मंगलबार पनि वृद्धि कायम राखेको हो।
यस दिन नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेर बन्द भयो। सेन्सेटिभ इन्डेक्स २.३१ अंकले वृद्धि भएको छ भने फ्लोट इन्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९० अंकले उकालो लागेको छ।
परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट देखिएको छ। सोमबार ५ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३२८ वटा स्टकको ४९ हजार ९३ पटक कारोबार हुँदा कुल ९३ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
व्यक्तिगत कम्पनीतर्फ सालपा विकास बैंकको सेयरमा पुनः सकारात्मक सर्किट लागेको छ। बैंकको सेयर मूल्य ४३ रुपैयाँ ९० पैसाले बढेर ४८३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सागर डिष्टिलरीको सेयर करिब ९ प्रतिशतले बढेको छ। घटेका कम्पनीहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल अग्रस्थानमा रहेको छ। कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी आँखुखोला जलविद्युत कम्पनीको साढे २४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।
उपसमूहतर्फ मंगलबार सबै १३ वटै उपसमूहका परिसूचक हरियो भएका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूह सर्वाधिक २.०२ प्रतिशतले बढेको छ। विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन तथा व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
समग्रमा बजार परिसूचकमा सुधार देखिए पनि कारोबार रकम घट्नुले लगानीकर्ताको सहभागिता अझै पूर्ण रूपमा विस्तार भइनसकेको संकेत गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।