लोड हुँदैछ...

मेनु

श्रीमतीको मुख थुनेर ज्यान लिने प्रयास गर्ने श्रीमान् पक्राउ

श्रीमतीको मुख थुनेर ज्यान लिने प्रयास गर्ने श्रीमान् पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका–४, सोहल टोलमा २७ वर्षीया सविता मण्डलमाथि आफ्नै श्रीमान् र परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेको घटनामा श्रीमान पक्राउ परेका छन् ।

श्रीमतीको मुखमा कपडा कोचेर मरणासन्न हुने गरी निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय श्रीमान् अमित मण्डललाई नियन्त्रणमा लिएको हो।

गत बिहीबार राति अमितले सविताको मुखमा कपडा कोचेर क्रूरतापूर्वक कुटपिट गरेको घटना सार्वजनिक भएको हो। कुटपिटका कारण सविताको नाकको हड्डीमा गम्भीर चोट लागेको छ भने उपचारपछि पनि उनको नाकबाट रगत बग्ने समस्या नरोकिएको आफन्तले बताएका छन्।

यो घटनामा श्रीमान् अमित मात्र नभई परिवारका अन्य सदस्यहरूको समेत सक्रिय संलग्नता रहेको खुलेको छ। पीडितकी बहिनी मधुकुमारी मण्डलका अनुसार जेठाजु सन्दीप मण्डल, देवर रवीशंकर मण्डल र सासू–ससुरा मिलेर सवितामाथि सामूहिक आक्रमण गरेका थिए। ‘दिदीलाई पहिलेदेखि नै यातना दिइन्थ्यो, तर यसपटक त मुख थुनेर ज्यानै लिने नियतले कुटपिट गरियो,’ मधुकुमारीले भनिन्, ‘कुनै तरहले भागेर ज्यान जोगाउन सफल भइन्, नत्र आज अनर्थ भइसक्ने थियो।’

आक्रमणपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी उजुरी दर्ता गराएका थिए। सोही उजुरीका आधारमा प्रहरीले आइतबार अमित मण्डललाई पक्राउ गरेको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्द चौधरीले घटनाको पुष्टि गर्दै पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको र अन्य संलग्नहरूको खोजी भइरहेको जानकारी दिए।

जहदा–६, ढेकीटोल माइती भएकी सविताका ५ र २ वर्षका दुई साना छोरीहरू छन्। घरमा सुरक्षा नभएपछि उनी अहिले छोरीहरूसहित माइतीको शरणमा पुगेकी छिन्। कोशी अस्पतालमा प्राथमिक उपचार गराए पनि उनको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ। शारीरिक र मानसिक रूपमा विक्षिप्त बनेकी सविता र उनका आफन्तले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन र कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds