लोड हुँदैछ...

मेनु

बुथ कब्जा गर्ने सपना नदेख्न ओलीको चेतावनी

बुथ कब्जा गर्ने सपना नदेख्न ओलीको चेतावनी

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेको निर्वाचनमा बुथ कब्जा गर्ने कल्पना समेत नगर्न चेतावनी दिएका छन् ।

सोमबार दमकमा नेशनल भोलेन्टियर फोर्सको कोशी युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

अध्यक्ष ओलीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन र उपद्रो रोक्न प्रत्येक मतदान केन्द्रमा कम्तीमा ३० जना स्वयंसेवक खटाइने घोषणा गरे । विगतका हिंसात्मक घटनाको स्मरण गर्दै उनले अब प्रहरीको हतियार कब्जा गर्ने वा सरकारी संरचना जलाउने जस्ता उच्छृङ्खल गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँ–गाउँ र टोल–टोलमा सुरक्षा समिति गठन गर्न युवाहरूलाई निर्देशन समेत दिए ।

सम्बोधनका क्रममा ओलीले झापा क्षेत्र नं.५ मा आफूसँग प्रतिस्पर्धा गर्न आएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साहप्रति तिखो कटाक्ष गरे । ‘आफैँलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै हिँड्नुलाई केटाकेटी शैली को संज्ञा दिँदै उनले भने, “बच्चाले के हुने भन्दा प्रधानमन्त्री वा राष्ट्रपति भन्न सक्छ, तर भइहाल्ने होइन । प्रधानमन्त्री हुने कुरा ख्यालठट्टा होइन ।”

अध्यक्ष ओलीले आफू स्पष्ट योजना र गन्तव्यसहित अघि बढेको दाबी गर्दै निर्वाचनमा स्वतन्त्र र भयरहित मतदान सुनिश्चित गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।