दमक । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाठ झापा ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाह (बालेन)ले दमकको भ्यूटावर सञ्चालनमा ल्याउने बाचा गरेका छन् ।
सोमबार झापा ५ को चुनावी वाचापत्र सार्वजनिक गर्दै बालेनले पूर्वाधारतर्फ दमकको भ्यूटावर पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘दमकको सभागृह र भ्यूटावर लगायत योजनाहरू उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याइनेछ,’ वाचापत्रमा भनिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको योजनामा डेढ अर्ब बढि लागतमा बनेको भ्युटावरको उपयोगिता नभएको भन्दै आलोचना हुने गरेको छ ।
दमक ३ मा निर्माण भएको १८ तले भवनलाई एमालेले विजनेश टावर भन्दै आएको छ । यसअघि स्थानीयको अवलोकनको लागि खुल्ला गरिएको टावरमा जेनजी आन्दोलनको आडमा भदौ २४ गते तोडफोड, आगजनी र लुटपाट भएको थियो । त्यसपछि सर्वसाधारणको लागि प्रवेश बन्द गरिएको छ । टावरलाई यसअघि रास्वपाका नेताहरुले भत्काउनुपर्ने अभिव्यक्तिसमेत दिएका थिए । पार्टीका उम्मेदवार बालेनले भने सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
बालेनले पूर्वाधार निर्माणतर्फ दमक रवि चिसापानी सडक पनि सम्पन्न गरी संचालनमा ल्याउने उल्लेख गरेका छन्। आदिवासी जनजाति संस्कृति र इतिहास झल्किने आदिवासी जनजाति रंगशाला निर्माण गर्ने पनि उल्लेख गरेका छन्।
दमकलाई पूर्वी नेपालको आइटी हबको रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गर्ने उनको वाचा छ। उनले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने वाचापत्रमा उल्लेख गरेका छन्।
त्यस्तै बाँझो जमिन सदुपयोग गर्नका लागि उनले ‘ल्याण्ड बैंक’ को व्यवस्था गर्ने पनि उल्लेख गरेका छन्। उनले रास्वपाको वाचापत्र कार्यान्वयनको नेतृत्व गर्ने पनि बताएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।