विर्तामोड । झापा साइक्लिङ क्लबले स्थापनाको पहिलो भव्य कार्यक्रमका रूपमा ‘घुमौँ झापा साइकलमा’ आयोजना गर्ने भएको छ।
दुई रात तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम फागुन ३०, चैत १ र २ गते आयोजना गरिने क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए।
दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरव प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो। यात्रामा झापाका १२ स्थानीय तहको साइकल यात्रा गरिनेछ। पहिलो दिन करिब ६० किलोमिटर दूरी तय गर्दै मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा गाउँपालिका, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबारी र बिर्तामोड क्षेत्र फन्को लगाइनेछ।
पर्यटन कार्यालय काँकडभिट्टाबाट सुरु हुने यात्रा बाहुनडाँगी, ४९ धारा, मदन भण्डारी राजमार्ग, बर्ने चिया बगान, अर्जुनधारा जलेश्वरधाम, सामुदायिक वन हुँदै जामुनखाडी सिमसार क्षेत्र पार गरी दोमुखामा पुगेर पहिलो दिनको यात्रा टुङ्गिनेछ। दोस्रो दिन करिब ८० किलोमिटर दूरी पार गर्दै माईधार, चिल्लागढधाम, शिवगञ्ज बजार, चौरी, हुलाकी मार्ग, झापा बजार, राजगढ, जलथल जंगल हुँदै नेपालकै होचो स्थान मानिने कचनकवल पुगिनेछ। त्यसपछि बनियानी बजारमा विश्राम गरिनेछ।
तेस्रो तथा अन्तिम दिन ५० किलोमिटर यात्रा गर्दै बनियानीबाट किच्चकबध, भद्रपुर, हल्दिबारी, विराट पोखरी हुँदै बिर्तामोडमा कार्यक्रम समापन गरिने अध्यक्ष श्रेष्ठले बताए। यात्रामा ५० जना साइकल यात्री तथा २० जना गाइड, मेकानिकल र स्वयंसेवक सहभागी हुनेछन्। कम्तीमा २० प्रतिशत महिला र २० प्रतिशत झापाबाहिरका सहभागी अनिवार्य गरिएको छ।
क्लबका सचिव हिमाल खरेलका अनुसार झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न, शून्य–फोहोर र वातावरणमैत्री पर्यटनलाई बढावा दिन, महिला तथा युवाको साहसिक गतिविधिमा सहभागिता बढाउन र स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्याउन कार्यक्रम आयोजना गरिएको हो। सीमा क्षेत्र, धार्मिक स्थल, सिमसार र ग्रामीण भूभागलाई जोड्दै झापालाई साइकलमैत्री गन्तव्यका रूपमा चिनाउने लक्ष्य राखिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।