लोड हुँदैछ...

मेनु

चुनावको मुखमा रास्वपामा बढ्दो अराजकता, विद्रोह र विवाद

चुनावको मुखमा रास्वपामा बढ्दो अराजकता, विद्रोह र विवाद

विराटनगर । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विद्रोह,र विवादको श्रृंखला तीव्र बनेको छ।

उम्मेदवार छनोटमा विभेद, आन्तरिक प्राइमरीमा चलखेल र आर्थिक अनियमितताको आरोपसँगै देशभरका वडादेखि प्रदेश र केन्द्र तहसम्मका नेता–कार्यकर्ता धमाधम पार्टी परित्याग गरिरहेका छन्।

पार्टी छाड्ने अधिकांश नेता–कार्यकर्ता नेपाली कांग्रेस लगायत अन्य दलमा प्रवेश गरिरहेका छन्। यो असन्तुष्टि माघ २९ गते प्रणयशमशेर राणा ले पार्टी परित्याग गरेपछि सतहमा आएको हो । २०७९ को निर्वाचनमा रास्वपाबाट काठमाडौं ५ का उम्मेदवार रहेका उनले उम्मेदवार छनोट प्रक्रियामा विभेद गरेको तथा २५ हजार रुपैयाँ ‘प्राइमरी’ शुल्क उठाएर विधिविपरीत टिकट वितरण गरिएको र आर्थिक लेनदेन भएको आरोप लगाएका थिए।

रणाले ‘बेथितिका मूकदर्शक भएर बस्न विवेक र इमानले नमानेको’ बताएका छन् । ‘सुरुमा पार्टीको नारा सुशासन र जवाफदेहिता थियो। बेतिथिको अन्त्य र थितिको सुरुवात गर्नुपर्ने न्यारेटिभ ठीक उल्टो बनेको छ,’ विद्रोह गर्दै उनले भनेका छन् । प्रवास प्रतिनिधित्वको वाचा कार्यान्वयन नभएको भन्दै उनले पार्टीभित्र ‘स्क्याम’ भएको टिप्पणीसमेत गरेका छन्। उनले पार्टीले विभिन्न नाममा रकम असुली गरेर हिसाब पनि पारदर्शी नबनाएको आरोप लगाउँदै पार्टी छाडेका थिए ।

रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले पनि सोमबार पार्टी परित्याग गरी पुनः कांग्रेसमा सक्रिय भएका छन् । सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले मकवानपुरको सभामा सम्बोधन गर्ने तालिका आइरहँदा रास्वपालाई धक्का लागेको छ। पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा पार्टी प्रवेश गराए।

नुवाकोटका नेता अशोककुमार थापाले पार्टी गतिविधिप्रति असन्तुष्टि जनाउँदै आइतबार रास्वपा परित्याग गरेका छन्। संगठन निर्माणमा खटिएका कार्यकर्तालाई पाखा लगाइएको आरोप उनले लगाएका छन। नुवाकोटमा रास्वपाको माहोल राम्रो बनिरहेका बेला उनको विद्रोहले धक्का लागेको छ।

नवलपरासीको सुस्ता गाउँपालिकाका उपसभापति गुप्तसेन ठकुरी र बर्दघाट नगरपालिकाका जीतबहादुर हरिजनले पनि रास्वपा छाडेका छन्।नवलपरासी सुस्ता पश्चिम–१ मा नेपाली कांग्रेसबाट आएका विक्रम खनाललाई उम्मेदवार बनाइएपछि उनीहरुले पार्टी छाडेका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति इश्वरी विष्टले पनि चुनावको मुखमा रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। बारा जिल्लाका संगठन विभाग प्रमुख पवन चौधरीले फागुन ८ गते पार्टी छाडे। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उनी उम्मेदवार थिए ।

चौधरी २५ हजार रुपैयाँ शुल्क तिरेर आन्तरिक निर्वाचनमा सहभागी थिए। तर, अन्तिममा विधिविपरीत उम्मेदवार चयन भएपछि पार्टी परित्याग गरेका हुन् । २०७९ को निर्वाचनमा मधेश प्रदेशका २५ उम्मेदवारमध्ये चौधरीले सबैभन्दा बढी ७ हजार मत पाएका थिए । मत ल्याएका थिए। चौधरी समुदायको पकड रहेको बारा क्षेत्र नम्बर–४ मा उनी बाहिरिएपछि चुनावी समीकरण नै फेरिने अवस्था छ ।

यस्तै, रास्वपा नेता सुमनबिक्रम पाण्डेले पनि पार्टी परित्याग गरेका छन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ नुवाकोट क्षेत्र नं. २ का उम्मेदवार थिए ।

बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पनि नेतृत्वमा नैतिक विचलन आएको, तल्लो तहका कार्यकर्तामाथि ‘दासको जस्तो व्यवहार’ गरिएको जनाउँदै रास्वपा छाडेका छन् । उनले पार्टी सदस्यता र उम्मेदवार आवेदन शुल्कको हिसाब सार्वजनिक नगरिएको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि गत फागुन ६ गते पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकी छन् । शर्माले रास्वपामा ‘दागैदाग भएकाको बिगबिगी’ देखिएपछि बाहिरिने निर्णय गरेको बताएकी छन् ।

रास्वपाको केन्द्रीय वित्त विभागका सदस्य दिनेश आचार्यले पनि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। पार्टीभित्र पारदर्शिता र जवाफदेहिताको अभाव भएको उनले बताएका छन् । उनले सभापति रवि लामिछानेको भाषणशैलीमाथि प्रश्न उठाउँदै आक्रोश र प्रतिशोपूर्ण अभिव्यक्तिले पार्टीको वैचारिक धरातल बिगारेको आरोप लगाएका छन्। यसअघि सुमना श्रेष्ठ र सन्तोष परियारलगायत नेताले रास्वपा छाडिसकेका छन्

पछिल्लो समयमा ‘चुपचाप घण्टी छाप’ भन्दै मतदातामाथि मनोवैज्ञानिक दबाब बढाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता असहिष्णु शैलीमा प्रस्तुत हुन थालेका छन् । त्यसको असर कार्यकर्ता र मतदातामा पनि परेको छ ।

पार्टी नेतृत्वको भाषाशैली र कार्यकर्ताको व्यवहारलाई लिएर थप विवाद चुलिएको छ। सभापति रवि लामिछानेका भाषणपछि कार्यकर्ता उग्र बन्दै गएको आरोप प्रतिस्पर्धी दलहरूको छ। दाङमा एमालेको झण्डा जलाइएको, अछाममा आमसभा बिथोल्ने प्रयास गरिएको र नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट भएको घटनाले चुनावी माहोल तनावग्रस्त बनेको छ।

लामिछानेले सुर्खेत र धनगढीको भाषणामा प्रतिपक्षी समेत नरहने गरी अन्य दललाई बढार्नुपर्ने उत्तेजक भाषण दिएका थिए । अश्र सबै दललाई सिद्याउनुपर्ने तथा आफूलाई जेल हाल्नेलाई तह लगाउने चर्को अभिव्यक्ति उनले दिँदै आएका छन् ।

पत्रकारिता क्षेत्रबाट राजनीतिमा आएका लामिछानेले आफूहरुलाई कसैले प्रश्न गर्न नहुने आसयमा प्रश्नको ठेक्का कसैलाई नदिएको बताएका छन् । जसको कारण रास्वपाका उम्मेदवारहरु प्रश्न गर्ने मतदातालाई पनि धम्क्याउन थालेका छन् ।

गुल्मीमा एमाले उम्मेदवार प्रदीप ज्ञवाली र उनका कार्यकर्ताहरूलाई पनि बाटो छेक्दै अवरोध प्रयास भएको छ। एमाले नेता कार्यकर्ताहरूलाई चिढ्याउने गरी घण्टी बजाइदिने, असहिष्णु शैलीमा नाराबाजी गर्ने जस्ता गतिविधि रास्वपा कार्यकर्ताहरूले गरिरहेको एमालेको गुनासो
छ ।

बिहीबार एकैदिन दाङ र अछाममा रास्वपाका कार्यकर्ताहरू एमाले र नेकपाको चुनावी कार्यक्रम बिथोल्ने शैलीमा प्रस्तुत भएका थिए । अछाम क्षेत्र नम्बर १ मा नेकपा उम्मेदवार डा.भीमबहादुर रावलको चुनावी सभामै पसेर रास्वपा कार्यकर्ताले हुलदंगाको कोसिस गरेका छन् । सहभागीहररूलाई उत्तेजित बनाएर कार्यक्रम बिथोल्ने योजनासहित रास्वपाले अराजक हर्कत गरेको नेकपाले जनाएको छ ।

एक साताअघि बारामा पनि रास्वपा कार्यकर्ताले अर्को दलका मतदातालाई बलजफ्ती गरेका थिए । ती मतादाताले रास्वपालाई भोट नदिने भन्दा कानमै घण्टी ल्याएर थर्काउँदै भोट दिन दबाब दिएको भिडियो भाइरल भएको छ । उग्र र असभ्य शैलीमा प्रस्तु भएका उनीहरूले रास्वपालाई भोट दिने वाचा नगरेसम्म घण्टी बजाइरहने भन्दै मतदातालाई चिढ्याउने काम गरेका थिए ।

बिहीबार दाङको तुलसीपुरमा रास्वपा सभापति लामिछानेको स्वागत गर्न बसेका रास्वपा कार्यकर्ताहरूले एमालेको झण्डा जलाइदिएका थिए । त्यसमा संलग्न केहि व्यक्ति पक्राउ परेका छन् । सडकमा घण्टीसहित बसेका रास्वपा कार्यकर्ताले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य र अमर्यादिन नाराबाजी गरेका थिए ।

रास्वपा सहप्रवक्ता प्रतिभा रावलले भने दाङको घटना पार्टीको योजना र निर्देशनअनुसार नभएको बताएकी छन् । उनले उक्त घटनामा पार्टीको संलग्नतालाई अस्वीकार गरेकी छन् ।

गत बिहीबार सुनसरी क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका रास्वपा नेता अशोक चौधरीले घण्टीमा भोट नहाल्नेहरूलाई देशद्रोही भन्दै धम्क्याउने काम गरेका छन् । इटहरीमा आयोजित कार्यक्रममा उनले रास्वपालाई भोट नदिनेहरू देशद्रोही भनेपछि युवाहरूले नाराबाजीसहित प्रतिकार गरेका थिए । ‘घण्टी मुर्दावाद’का नारासहित प्रतिकार गरेपछि चौधरीलाई प्रहरीले सुरक्षा दिएर कार्यक्रमबाट बाहिर निकालेको थियो ।

इटहरीमा जेसिस ककस कार्यक्रममा रास्वपाका पूर्वसांसदसमेत रहेका चौधरीले ‘घण्टीलाई भोट नहाल्ने मानिस देशद्रोही र देशविरोधी’ भएको बताएका थिए । उता नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग सर्लाही ४ मा प्रतिस्पर्धा गरिरहेका रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले चुनाव नजिते आत्मदाह गर्छु भन्दै मतदातालाई ब्ल्याकमेलिङ गरेका छन् । उनले गगन नहारे आफूले आत्महत्यासमेत गर्ने बताइरहेका छन्।

ललितपुर क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार जगदीश खरेलले आफूलाई कडा प्रश्न गर्ने मतदातालाई हनुमानको संज्ञा दिएका छन्। कुनै बेला टेलिभिजनमा हुँदा अरूलाई कडा प्रश्न गर्दै र्‍यार्‍याख्ती बनाउनै उनैलाई बारबरा फाउन्डेशनसहित विवादिद गैरसरकारी संस्थासँगको संलग्नताबारे मतदाताले प्रश्न गरेका थिए । उनले प्रश्नको जवाफ दिनुको साटो प्रश्नकर्तालाई पुराना दलको हनुमान भन्दै गालीगलौज गरेका थिए ।

बर्दघाटमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारमाथि कुटपिट प्रकरणमा चार जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेहरूमा बर्दघाट नगरपालिका १३ का ३१ वर्षीया अजय गौतमसहित छन् । प्रहरीले बर्दघाट १३ धनेवा बस्ने २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज बीसी भन्ने राम मिजारलाई पक्राउ गरेकोक छ । उनीहरूमाथि हातपात तथा दुर्व्यवहार प्रकरणमा मुद्दा चलाइँदैछ।

कुटपिटबाट नेकपाका उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका थिए । घटनालाई निर्वाचन आचारसंहिताविपरीत भन्दै स्थानीय प्रशासनसमक्ष कारबाहीको माग गरिएको छ।

एकातिर रास्वपाले देशभर आक्रामक चुनावी अभियान चलाइरहेको छ भने अर्कोतर्फ आन्तरिक असन्तुष्टि, बहिर्गमन र उग्र गतिविधिका घटनाले पार्टीको चुनावी छविमा दबाब बढाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।