उदयपुर । उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी जोगी टोलमा सोमबार अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ‘ओखलढुंगे’ बस ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना करिब १२ बजेतिर भएको हो।
मदन भण्डारी लोकमार्ग अन्तर्गत पर्ने उक्त ओरालो सडक खण्ड पछिल्लो समय जोखिमपूर्ण बन्दै गएको छ। गत शनिबार मात्रै सोही स्थानमा ट्रक दुर्घटना भएको थियो। साँघुरो घुम्ती र तीव्र ओरालोका कारण सवारी साधन नियन्त्रणबाहिर जाने समस्या दोहोरिँदै आएको स्थानीयको भनाइ छ।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नम्बर ५ गण उदयपुरबाट खटिएको ‘क्विक रेस्पोन्स टिम’ र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। उनीहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको छ। सशस्त्र प्रहरीका अनुसार दुई जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम खालको छ। ठूलो मानवीय क्षति हुनबाट जोगिएको सुरक्षा निकायले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा त्रियुगा–११ की २२ वर्षीया मणिका मगर, कटारी–४ की ३५ वर्षीया अनिता चौधरी (टाउको तथा शरीरका विभिन्न भागमा चोट), उदयपुरगढी–७ की ७३ वर्षीया सोममाया मगर (टाउकोमा गम्भीर चोट), ताप्ली–५ का ४० वर्षीय प्रकाश भुजेल, त्रियुगा–७ चुहाडेका २१ वर्षीया रेशिका बस्नेत, रौतामाई–७ का १७ वर्षीय तिलक बस्नेत, उदयपुरगढीका १० वर्षीय दिपेश तामाङ, कटारी–४ की १९ वर्षीया पवित्रा श्रेष्ठ, त्रियुगा–५ की २० वर्षीया रेश्मा बस्नेत, कटारी–२ गोलपार्ककी ६० वर्षीया सोममाया परियार (गम्भीर), कटारी–३ का २७ वर्षीय नितेश बुढाथोकी (सहचालक), कटारी–५ का ७८ वर्षीय दलबहादुर तामाङ, कटारी–४ का १५ वर्षीय प्रेम तामाङ, ताप्ली–५ रुपाटारका २८ वर्षीय सुवास नेपाली र कटारी–४ का १५ वर्षीय सुजन तामाङ रहेका छन्।
प्रहरीले बसका चालक ४५ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल नै दुर्घटनाको मुख्य कारण देखिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
बारम्बार दुर्घटना भइरहेपछि स्थानीयले सडक सुधार, संकेतचिन्ह र सवारी नियन्त्रणमा कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।