दमक । आसन्न निर्वाचनका लागि झापा क्षेत्र नं.५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले आफ्नो ‘वाचा पत्र’ सार्वजनिक गरेका छन् ।
शाहले घोषणापत्रमा विकासका ठुला र आकर्षक सपना प्रस्तुत गरेका छन् । ती वाचाहरूको गहिराइमा पुग्दा कार्यान्वयनको पाटो भने निकै जटिल र कतिपय अवस्थामा ‘हावादारी’ देखिन्छ ।पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, सुशासनदेखि वातावरण र संस्कृति संरक्षणसम्मका विषय समेटिएको दस्तावेज व्यापक देखिएपनि त्यसमा समेटिएका कतिपय प्रतिबद्धता कार्यान्वयनका दृष्टिले जटिल, स्रोत–साधनका हिसाबले अव्यावहारिक र केही विषयमा संवैधानिक सीमाभन्दा बाहिरको दायरा समेटिएको देखिन्छ।
घोषणापत्रमा संघीय सांसदका रूपमा गर्ने काम र स्थानीय तह वा कार्यपालिकाले गर्ने अधिकारबीच स्पष्ट भिन्नता देखिन्न । अर्थात उनको बाचापत्रमा स्थानीय सरकारको अधिकार क्षेत्रका काम गर्ने उल्लेख छ ।
शाहले कोशी प्रदेश सरकारले लखनपुरमा स्थापना गरि सञ्चालन गरिरहेको प्रदेश आयुर्वेदिक अस्पताललाई कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गरि त्यस मातहत सञ्चालन गर्ने लेखेका छन् । जबकी प्रदेश सरकार मातहतको निकाय संघीय सरकार र संसद मातहत हुँदैन ।
प्रत्येक घरमा शुद्ध खानेपानी’, ‘स्वास्थ्य चौकी स्तरमै विशेषज्ञ सेवा’, ‘कृषि उत्पादनको न्यूनतम मूल्य ग्यारेन्टी’ जस्ता कार्यक्रम सांसदले नभएर स्थानीय सरकारले गर्ने कार्यक्रम हुन् । संघीय संसदमा निर्वाचित व्यक्तिले नीति निर्माण र बजेट पैरवी गर्न सक्ने भए पनि प्रत्यक्ष निर्माण र सञ्चालनको जिम्मेवारी लिन नसक्ने संवैधानिक व्यवस्था छ।
घोषणापत्रको सबैभन्दा विवादित र महत्वाकांक्षी बुँदा भूमि व्यवस्थापनसँग सम्बन्धित छ । उनले १०० दिनमा आयोग गठन गर्ने र १००० दिनमा समाधान गर्ने बताएका छन् । काठमाडौंमा सुकुम्बासीको बस्तीमा डोजर चलाएर विवादित बनेका शाहले सुकुमबासीको मत पाउन १००० दिनमा समस्या समाधान गर्ने बताएका हुन् ।
शाहले दमकलाई ‘आईटी हब’ बनाउने अन्तर्राष्ट्रिय रंगशाला बनाउने उल्लेख गरेका छन् । घोषणापत्रमा दमक–रवि–चिसापानी सडकलाई तत्कालै सम्पन्न गर्ने बताएका छन् । तर, तत्कालै भनेको कति समय हो भन्ने उल्लेख छैन ।
आदिवासी जनजाति रंगशालालाई ‘हाम्रो रंगशाला, हाम्रो पहिचान’का रूपमा निर्माण गर्ने योजना शाहको छ । स्वास्थ्य क्षेत्रमा उनले ‘२४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा’ र ज्येष्ठ नागरिकका लागि ‘घर–घरमा निःशुल्क स्वास्थ्य सेवा’को वाचा गरेका छन् । प्रधानमन्त्रीको दावेदार रहेका उनले त्यो सेवा देशभर चलाउने हो कि झापा ५ मा मात्र भन्ने खुलाएका छैनन् ।
शिक्षा क्षेत्रमा उनले काठमाडौँ महानगरपालिकामा लागू भएको ‘शिक्षामा सीप कार्यक्रम’लाई झापामा पनि लागू गर्ने उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री बनेर झापामा मात्र लागू गर्ने बताएका हुन् कि सांसद मात्र बनेर भन्ने खुलाएका छैनन् । सांसदले यस्ता योजना कार्यान्वयन गर्ने कुनै संभावना र बजेट हुँदैन ।
‘१० करोडको बजेटमा दमक गोल्डकपलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने शाहले बताएका छन् । वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि उद्यम प्रवर्द्धन गर्ने र अनुदान दिने उनले बताएका छन् । प्रत्येक पालिकामा श्रम बैंक स्थापना गर्ने, भूमि बैंक स्थापना गर्ने, गौरादह कृषि क्याम्पसलाई कृषि अनुसन्धान केन्द्र बनाउने जस्ता योजना पनि राखेका छन् ।
स्वास्थ्यसँग सम्बन्धमा उनले दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालको रूपमा स्तरोन्नति गर्ने वाचा गरेका छन्। विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत छुट्याएर नि:शुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउने कानुनी व्यवस्थालाई सशक्त रूपमा कार्यान्वयन गर्ने वाचापत्रमा उल्लेख गरिएको छ।
शाहले दमकको भ्यूटावर नागरिकको उपयोगिता हुने गरी सञ्चालनमा ल्याउने वाचा गरेका छन्। झापा-५ को चुनावी वाचापत्र सार्वजनिक गर्दै बालेनले पूर्वाधारतर्फ दमकको भ्यूटावर पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘दमकको सभागृह र भ्यूटावर लगायत योजनाहरू उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याइनेछ,’ वाचापत्रमा भनिएको छ।
बाचापत्रमा ८० भन्दा बढी बुँदाहरू समेटिएको छ । संघीय सांसदको मुख्य काम नीति र कानुन निर्माण गर्ने हो । त्यसबारे पनि उनको बाचापत्रमा खासै उल्लेख छैन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।